खासकुरा संवाददाता
हेटौँडा, साउन २७ गते । बागमती प्रदेशको सत्तारुढ दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले नेपाली कांग्रेस र एमालेको बागमती प्रदेशमा गठमन्धनको सरकार बनेपछि बजेट खर्चमा वृद्धि र आन्तरिक आम्दानी बढेको बताउनुभएको छ ।
उहाँले गठबन्धनको सरकार बनेपछि बागमती प्रदेशमा विकास निर्माणका कार्यमा तिव्रता दिइएको, बाढीपहिरोपछि उद्धार र राहतमा सीमित साधन र श्रोतमा पनि सरकारको उपस्थिति देखिएको बताउँदै पुननिर्माण सरकारको प्रतिबद्धता अनुसार काम गरिरहेको बताउनुभयो ।
बागमती प्रदेश सभामा मंगलबार मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने बताउँदै गत आर्थिक वर्ष २०८१/०८२ मा बजेट खर्चमा करिव सात प्रतिशतले वृद्धि र आन्तरिक आम्दानीमा करिब ११ प्रतिशतले बढेको तथ्याङ्क रहेको बताउनुभयो ।
केन्द्रीय स्तरमा बनेको सत्ता समीकरणको निर्णय अनुसार प्रदेशमा कार्यान्वयन गर्दै दुई दलको सहमतिमा बाँकी अवधिका लागि सहकार्य गरी अगाडि बढ्ने निर्णय अनुरुप दुवै दलले बराबरी समय सरकारको नेतृत्व गर्ने सहमति भएको भन्दै उहाँले भन्नुभयो, समानताको आधारमा समान हैसियतमा सरकारमा रहने सहमति भएको छ ।
उहाँले अगाडि भन्नुभयो, निराश हुनुपर्ने कुनै कारण छैन । प्रदेशको प्रशासनिक केन्द्र निर्माण गर्न आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अन्तिमचरणमा पुगेको छ । भाषा ऐन कार्यान्वयनमा प्रदेश सरकार अगाडि बढेको छ । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि दीर्घकालीन सोचसहितको प्रदेशको दोस्रो आवधिक योजना कार्यान्वयन गर्न आयोजना बैंकलाई कार्यान्वयनमा ल्याइएको छ ।
नेता थपलियाले समृद्धिको सपना पुरा गर्न र राजनीतिक स्थायित्वको लागि अहिलेको राजनीतिक समीकरण बाहेकको विकल्प नरहेको आफ्नो दलको निस्कर्ष रहेको बताउनुभयो ।




