खासकुरा संवाददाता
हेटौँडा, साउन २७ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रीहरु नियुक्त गरेर सपथग्रहण नगराएको भन्दै बागमती प्रदेश सभामा उहाँको कार्यशैली र भूमिकामाथि प्रश्न उठेको छ । बागमती प्रदेश सभाका प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख देवकोटाको भूमिका र कार्यशैलीप्रति बागमती प्रदेश सभाको मंगलबार बसेको बैठकमा प्रश्न उठाउनुभएको हो ।
उहाँले प्रदेश सभा सदस्यहरुलाई मन्त्रीमा नियुक्त गरेर सपथग्रहण नगराएकोप्रति संकेत गर्दै प्रदेश प्रमुखको भूमिकामाथि टिप्पणी गर्नुभएको थियो । अहिले सिस्टम मिच्नेहरुको सरकार रहेको र सिस्टम मिच्ने काम भएको प्रमुख विपक्षी दलका नेता जम्कट्टेलको स्पष्ट भनाई थियो ।
मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राख्नुभएको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो अहिले सिस्टम (विधि र प्रक्रिया) मिच्ने काम भएको छ । प्रदेश प्रमुख देवकोटाले तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सिफारिशमा नेपाली कांग्रेसबाट तीन जनालाई मन्त्रीमा नियुक्ति गरेर सपथ ग्रहण नगराएपछि संवैधानिक र नैतिक प्रश्न उठाउँदै सार्वजनिक रुपमा विवाद र विरोध हुँदै आएकोमा त्यो विषयले अब बागमती प्रदेश सभामा समेत प्रवेश पाएको छ ।
दलहरुको आन्तरिक विवादमा जान चाहन्न । तर सिस्टम मिच्नेहरुको सरकार छ चाहिँ म भन्न सक्छु पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका जम्कट्टेलले भन्नुभयो, को मन्त्री हुन्छन् को मन्त्री हुँदैनन् त्यो अलग कुरा हो । को मुख्यमन्त्री छन् को मुख्यमन्त्री छैनन् त्यो पनि अलग कुरा हो । तर मुख्यमन्त्रीले सिफारिश गरेका माननीयहरु मन्त्री हुन पाएनन् ।
उहाँले अगाडि भन्नुभयो, प्रदेश प्रमुखले सपथग्रहण गराउनु भएन । ठिक छ २४ घण्टा मन्त्री हुनुहुन्थ्यो होला । उहाँहरु १८ घण्टा मन्त्री हुनुहुन्थ्यो होला वा बाह्रै घण्टा मन्त्री हुनुहुन्थ्यो होला । तर प्रदेश प्रमुख बिरामी हुनुभयो, एक्कासि ।
बिरामीभित्र राजनीतिक कारण छ कि स्वास्थ्यको कारण पनि हो पूर्व मुख्यमन्त्री समेत रहनुभएका जम्कट्टेलले प्रश्न गर्नुभयो ।
यो सिस्टम (व्यवस्था) माथि ठुलो प्रहार हुँदैछ, भोलि यही कुरा वर्तमान मुख्यमन्त्रीले गर्नुभयो भने के होला उहाँले प्रश्न गर्दै भन्नुभयो, यो गम्भीर कुरा हो यसैले हामीले भनेका छौ अहिलेको गठबन्धनको सरकार सिस्टम मिच्ने विरोधीहरुको सरकार छ, सिस्टमको विरुद्धमा जाने सरकार छ ।
हामी सिस्टमको पक्षमा उभिनु पर्छ उहाँले भन्नुभयो । प्रमुख विपक्षी दलका नेता जम्कट्टेलले यदि हामीले सिस्टमको पक्षमा उभिएनौ, हामीले आफूलाई जे अनुकूल हुन्छ त्यही गर्दै गयौ भने भोलि के हुन्छ भन्दै यस्ता थुप्रै उदाहरणहरु भएको जिकिर गर्नुभयो ।
संविधानको मर्म र भावना अनुसार सरकार चलेको छैन, सरकारका यस्तै कारणले व्यवस्थामाथि प्रश्न उठेको हो उहाँले भन्नुभयो यो प्रणालीको विरुद्धमा जानेहरुको सरकार हो ।
पूर्व मुख्यमन्त्री जम्कट्टेलले जुन जगमा यो सरकार गठन भएको छ त्यसले अपेक्षित प्रतिफल दिने सम्भावना छैन भन्दै सरकारका राम्रो कामको समर्थन गर्ने र विरोधका लागि विरोध नगर्ने बताउनुभयो । उहाँले सकारात्मक रुपमा विपक्षीको भूमिका विगतमा निर्वाह गरेको र आगामी दिनमा पनि निर्वाह गर्ने बताउनुभयो ।




