हेटौँडा, साउन ३० गते । नेपाली कांग्रेसमा प्रवेश गरेको दोस्रो दिन हत्या आरोपमा फरार देवेन्द्र यादवको सदस्यता खारेज भएको छ । कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टीका पूर्वमहामन्त्री यादवलाई सदस्यता दिएको भोलिपल्ट नै शुक्रबार खोसेको हो ।
यादवमाथि व्यक्ति हत्या अभियोग लागेको जानकारीमा आएपछि कांग्रेसले सदस्यता खोसेको हो। मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई हत्या आरोपमा फरार देवेन्द्र यादवलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गर्नुभएको थियो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘हिजो बिहीबार बिहान ९ः४५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यालयमा सभापतिको कार्यकक्षमा समसामयिक राजनीतिक विषयका सन्दर्भमा छलफल गरिरहेका बेला पार्टीका केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो’ उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘तर बुझिदैं गर्दा निज व्यक्ति उपर फौजदारी कानूनी कारबाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ।’
यादवमाथि कानूनी कारबाहीको प्रक्रिया सन्दर्भमा गृह प्रशासनकोसमेत ध्यानाकर्षण गराइएको कांग्रेसले जनाएको छ ।
‘निजलाई पार्टी प्रवेश गराउन ल्याउनु हुने साथीहरूसँग यस बारे गम्भीरतापूर्वक जानकारी लिइँदै गरेको समेत जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।




