काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गर्नुभएको हो । बैठकले केही बैदेशिक भ्रमण स्वीकृत गर्नुका साथै कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट प्राप्त हुनेजापानी येन चौतिस अरब उनन्चास करोड़ (करीब तीस अर्ब आठ करोड़ रूपियाँ) सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने निर्णय गरेको छ ।

नेपाल बीमा प्राधिकरणका सच्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेको, कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकोले निजलाई नेपाल बीमा प्राधिकरणको सच्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने लगायतका निर्णय गरेको प्रवक्ता गुरुङ्गले जानकारी दिनुभयो । सो अवसरमा मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमणको तयारी भइरहेको बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री गुरुङले दुवै छिमेकी राष्ट्रबाट भ्रमणका लागि औपचारिक निमन्त्रण आइसकेको र नेपालका तर्फबाट समेत आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।
