मकवानपुरको थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा

लोकप्रिय

हेटौँडा, भदौ ८ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी भएको नगरपालिका घोषणा गरिएको छ ।
‎आइतबार एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी भएको नगरपालिका घोषणा गरिएको हो।
‎योसँगै थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा हुने पालिकामा मकवानपुरको पहिलो र प्रदेशको दोस्रो पालिका भएको छ ।
‎बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरको पालुङमा आयोजित कार्यक्रममा थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गर्नुभएको हो ।
‎मुख्यमन्त्री बानियाँले पुर्ण सुत्केरी पालिका घोषणा हुनुमा महिला स्वास्थ्य स्वयंसेविका र स्वाथ्यकर्मीहरुको योगदान महत्वपूर्ण रहेको भन्दै प्रदेश सरकार स्वास्थ्य क्षेत्र सुधारप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा वृद्धि गर्ने भन्दै मकवानपुरको उत्तरी क्षेत्रको विकासमा सहकार्य र समन्वय गरिने बताउनुभयो ।
नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले सुरक्षित मातृत्वको प्रक्रियामा तीन वटा समस्या रहेको भन्दै स्वास्थ्य सेवा लिनुपर्छ भन्ने कुरामा नै हामीमा ढिलाई, स्वास्थ्य संस्थामा पुग्ने विषयमा ढिलाई छ यसले मृत्यु दर बढाएको छ र स्वास्थ्य संस्थामा पहुँच पुगेपनि स्वास्थ्य सेवा प्रवाहमा ढिलाई हुने गरेको बताउनुभयो ।
उहाँले आमाको स्वास्थ्य राम्रो हुँदा बच्चाको स्वास्थ्यमा पनि राम्रो हुने भन्दै आमा र शिशुको मृत्युदर शून्यमा झार्न हाम्रो प्रयत्न हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले नागरिकलाई सहजढंगले स्वास्थ्य उपचार उपलब्ध गराउन स्वास्थ्य संस्थाको स्तरोन्नति र संस्थागत विकासलाई जोड दिइएको बताउनुभयो । उहाँले सर्नेभन्दा नसर्ने रोग पछिल्लो समय चुनौती बनेको चर्चा गर्दै सुरक्षित सुत्केरीको अभियानमा प्रदेश सरकार लागि परेको बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले घोषणासँगै निरन्तरता आवश्यक भएको र स्वास्थ्य संस्थामा सुत्केरी गराउनेसमेत दायित्व थपिएको बताउनुभयो ।
थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टले नगरपालिकामा २०७५ सालदेखि पूर्ण संस्थागत सुत्केरी अभियान सञ्चालन भएको र २०७६ सालमा नेपालकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएपछि अहिले अभियानले सार्थकता पाएको बताउनुभयो । आमा तथा शिशु मृत्युदरलाई शून्यमा झार्ने अभियान अन्तर्गत पालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको उहाँको भनाई छ ।
‎थाहा नगरपालिकाका , स्वास्थ्य शाखाका प्रमख मेघराज बलामी ‎पछिल्लो छ वर्षयता नगरपालिकाभित्रका सबै गर्भवती आमाले स्वास्थ्य संस्थामै बच्चा जन्माएको र पूर्ण संस्थागत सुत्केरी घोषणाका सबै सूचक पूरा भएपछि नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१÷०८२ मा पालिकाभरी ३५६ जना आमाले बच्चा जन्माएकोमा ती सबैले स्वास्थ्य संस्थामै बच्चा जन्माएको उहाँले जानकारी दिनुभयो ।
पालिकाभरीका गर्भवती आमाहरुले स्वास्थ्य संस्थामै बच्चा जन्माएको, गर्भवती आमाहरुले नेपाल सरकारको प्रोटोकल अनुसार आठ पटक गर्भ जाँच गरेको, गर्भवती तथा सुत्केरी आमाहरुले आइरन चक्कीसेवन गरेको, सुत्केरीपछि आमाहरुले स्वास्थ्य जाँच चार पटक गरेकोलगायतका सूचकहरु पूरा भएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख बलामीले बताउनुभयो ।
यसअघि जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी सुनिश्चिता प्रमाणपत्र थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टलाई प्रदान गर्नुभएको थियो ।
थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झा, थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, नेपाली कांग्रे्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेकपा माओवादी केन्द्र नगर सदस्य निरज रायमाझी, राप्रपा नगर अध्यक्ष कुलमान तामाङलगायतको आतिथ्यता रहेको थियो।
‎घोषणा कार्यक्रम विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरिएको थियो । साथै पूर्ण संस्थागत सुत्केरी घोषणा कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्य केन्द्रहरुलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles