चेपाङ समुदायको न्वागी पर्वमा तीन दिन बिदा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १८ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा यस वर्ष तीन दिन सार्वजनिक बिदा दिने भएको छ । चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङ गाउँपालिकाले पालिकाभर यही भदौ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै सो अवधिभर शिक्षण संस्था तथा सरकारी कार्यालयहरू बन्द रहने जनाएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उक्त पर्वका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हर्षोल्लासका साथ पर्व मनाउन आग्रह गर्नुभएको छ ।
राक्सिराङ गाउँपालिकाले विगतका वर्षहरूमा न्वागी पर्वमा सार्वजनिक बिदा दिँदै आएको छ ।
नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पर्व मनाउने परम्परा छ । पर्वका अवसरमा घैयाँ धानको चामल, पिँडालु, निबुवालगायत फलफूलले भूमिलाई पूजा गर्ने, पितृलाई चढाउने परम्परा रहेको छ । नयाँ अन्न पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक विश्वास चेपाङ समुदायमा रहिआएको छ । त्यसैका लागि झाँक्री (पाण्दे)हरूले ढ्याङ्ग्रो ठटाउँदै कुखुराको बली दिने परम्परा छ । यस दिनलाई चेपाङहरूले ‘वारना’को रूपमा मनाउने गर्छन् ।
सो अवसरमा छरछिमेकी र नातागोता निम्त्याई सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने परम्परा रहेको छ । चेपाङहरूले यस पर्वलाई ‘पान्देई घ्यासा’ पनि भनी सम्बोधन गर्ने गर्दछन् । भेलामा ढ्याङ्ग्रो बजाउने, टीका लगाउने र आपसमा आशीर्वाद थाप्ने परम्परा अझै छ ।

ताजा समाचार

Related Articles