खासकुरा संवाददाता
हेटौँडा, भदौ १९ गते । पूर्वी मकवानपुरको बागमती गाउँपालिका सव डिभिजन वन कार्यालयको दुई वटा भवन निर्माण सम्पन्न भएको छ ।
मकवानपुरको बागमती गाउँपालिकास्थित राइगाउँ र फापरबारीमा गरी दुईवटा सव डिभिजन वन कार्यालयको भवन निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनहरुको बुधबार उद्घाटन गर्दै बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले वन क्षेत्रलाई उत्पादनसँग जोड्नु पर्ने बताउनुभयो ।
उहाँले हिजो हरियो वन नेपालको धन थियो, अब यसको उपयोग गर्ने बेला भईसकेको भन्दै सामुदायिक वनहरुलाई उत्दानसँग जोड्नुपर्ने बताउनुभयो ।
उहाँले नागरिकलाई छिटो, छरीतो र मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । वनको सही व्यवस्थापन र प्रयोगमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्ने भन्दै उहाँले वन व्यवस्थापनमा तीनै तहको सक्रिय सहभागिता अपरिहार्य हुनेमा जोड दिनुभयो ।
बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले वन क्षेत्रको संरक्षण र उपयोगितामा जोड दिनुभयो । बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले बागमती प्रदेशमा हालसम्म ३८ वटा यस्ता भवन निर्माण भइसकेको जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख राकेश प्रसाद चन्द्रवंशीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रदेश वन निर्देशनालय बागमती प्रदेशका निर्देशक विद्यानन्द झालगायतको सहभागिता थियो ।
बागमती गाउँपालिका वडा नम्बर १ राईगाउँ स्थित सव डिभिजन वन कार्यालय दुई करोड ४९ लाख ४४ हजार १८८ र वडा नम्बर ८ फापरबारी स्थित नवनिर्मित सव डिभिजन वन कार्यालय दुई करोड ९६ लाख ५६ हजार ९३८ रुपियाँको लागतमा निर्माण भएको हो ।




