बुटवल, भदौ २३ गते। बुटवलदेखि भैरहवा क्षेत्रभित्र सोमबार अपरान्ह ४ बजेदेखि रातिको १० बजेसम्म कर्फ्यू जारी भएको छ। जेनजीको प्रदर्शन बढ्दै गएपछि कर्फ्यू लगाइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले कर्फ्यू आदेश जारी गर्नुभएको हो।

त्यसअघि सोमबार दिउँसो युवाको समूह जेनजी पुस्ताले रुपन्देहीको बुटवलमा पनि प्रदर्शन गरेको छ। प्रदर्शनमा सयौँ युवा सहभागी भएका थिए। युवाले सरकारविरुद्ध आक्रोसपूर्ण नारा लगाएका थिए भने राजमार्ग चौराहाबाट सुरु भएको जेनजीको प्रदर्शन बुटवल उपमहानगरपालिकासम्म पुगेको थियो। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा उनीले देशभर प्रदर्शन गरेका हुन्।

यस्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले आज अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इटहरी उपमहानगरपालिकामा निषेधाज्ञा आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

उत्तरतर्फ इटहरीस्थित नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वमा मिलन चोकदेखि जुट विकाससम्म, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, यातायात व्यवस्था कार्यालय, साथी पेट्रोलपम्प र पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिमतर्फ कलङ्की मोडदेखि जनताबस्तीसम्मका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट गरेको छ। कर्फ्यू जारी गरिएको क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, भेला, बैठक, प्रदर्शन, घेराउ गर्न नपाइने कानुनी व्यवस्था छ । इटहरी उपमहानगरपालिकामा भ्रष्टाचार भएको भन्दै नाराबाजीसहित प्रदर्शनमा उत्रिएका जेनजी पुस्ता र प्रहरीबिच यसअघि झडप भएको थियो।

प्रदर्शनले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रण लिनका लागि प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो । झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ६ जना र प्रदर्शनकारीतर्फ केही व्यक्ति घाइते भएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै बिहान ११ः०० बजेदेखि यहाँ सुरु भएको प्रदर्शन अनियन्त्रित भएपछि बाध्य भई केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीमा प्रशासनले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माबाट जारी निषेधाज्ञा सोमबार दिउँसो २ बजेबाट अर्काे आदेश नभएसम्म जारी रहने सूचना जनाइएको छ। जेनजी आन्दोलनकारीले पोखरा ७ मा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोडसहित आगजनीको प्रयास गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रदर्शनका क्रममा एक जना आन्दोलनकारीलाई गोली लागेको छ।

सोमबार बिहान सभागृहचोकमा भएको प्रदर्शनपछि गएका आन्दोलनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गरेका थिए। त्यसरी भएको ढुङ्गामुढाले कार्यालयका सिसा फुटेका छन्। कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले प्रदर्शन अराजक बनेपछि सामान्य बल प्रयोग भएको बताउनुभयो।

“प्रदर्शन अलि अराजक बनेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग भएको हो, स्थिति अहिले नियन्त्रणमै छ,” उहाँले भन्नुभयो। निषेधाज्ञाका बाबजुद प्रदर्शन भने जारी छ। जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने उल्लेख गरेको छ। सहिदचोक आसपासका क्षेत्रमा पूर्वतर्फ वाइचोक, उत्तर पूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैँक चोकमा निषेधाज्ञा जारी भएको हो।

त्यसअघि आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको थियो। प्रदर्शनका क्रममा एक किशोरलाई गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते किशोरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले जानकारी दिनुभयो।



