हेटौँडा, वैशाख १० गते । बागमती प्रदेश सरकारले बागमती प्रदेश विश्वविद्यालयको संरक्षक सदस्यमा डा. प्रेमनारायण अर्याललाई नियुक्त गरेको छ। प्रदेश सरकारको बिहीबार यहाँ बसेको मन्त्रीपरिषद् बैठकले पोखरा विश्वविद्यालयका पूर्व उपकूलपति अर्याललाई विश्वविद्यालयको संरक्षक सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यसैगरी सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठलाई मनोनयन गरिएको छ।

प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बैठकले सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव खुबीराम अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिनुभयो ।
त्यसैगरी नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामा नियुक्त गरिएको छ । स्वास्थ्य सेवाका ११ औँ तहका डा. अर्जुनप्रसाद सापकोटा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीहरुले दिएको राजीनामा मन्त्रीपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्री तामाङका अनुसार बैठकले गरिबी निवारण नीति २०८२ र शैक्षिक छात्रवृत्ति निर्देशिका २०८३ लाई स्वीकृति प्रदान गरेको छ।
यसैबीच बैठकले प्रदेश पर्यटन पहिलो संशोधन ऐन २०८२ र प्रदेश राष्ट्रिय वन ऐन पहिलो संशोधन २०८३ लाई प्रदेश सभामा पेस गर्न स्वीकृति दिएको छ।




