काठमाडौँ, भदौ २३ गते । राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना प्रदर्शनरत पक्षलाई शान्तिपूर्ण, मर्यादित र संयमित बन्न अनुरोध गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा प्रदर्शनलाई मर्यादित, संयमित र बनाउन अनुरोध गरिएको छ । “यस प्रकारका प्रदर्शन पूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको यथोचित रुपमा समयमै सम्बोधन गर्नु जरुरी छ”, विज्ञप्तिमा भनिएको छ, “मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।”

नेपाल सरकारले फेसबुक, ट्विटर, युट्युब लगायतका सामाजिक सञ्जालहरू सूचीकृत गर्न नमानेपछि निष्क्रिय गर्ने निर्णयविरुद्ध ‘जेनजी’ नामक समूहको आह्वानमा आज काठमाडौँलगायत देशका विभिन्न सहरहरूमा आयोजना भएको प्रदर्शनमा मानवअधिकार उल्लङ्घनको जोखिमप्रति आयोगले अनुगमन टोलीहरू गठन गरी अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा आयोगको सवारीसाधन र अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले काठमाडौँ, पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङ लगायतका देशका विभिन्न सहरहरूमा प्रदर्शन भएको जनाएको छ । काठमाडौँको माइतीघरबाट सुरु भई बबरमहल हुँदै बानेश्वर पुगेका प्रदर्शनकारी संसद् भवन प्रवेश गर्न खोजेको भन्दै प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको जनाएको छ ।




