खासकुरा संवाददाता
हेटौँडा, असोज १ गते । गत भदौ २४ गते जेनजी (युवा पुस्ता) को आन्दोलनका क्रममा आन्दोलनकारीहरुले कचौरा, प्लेट र ईलेक्ट्रिक जग, इन्डक्सन चुलोदेखि कम्प्युटरसम्म लुटपाट र चोरी गरेको पाइएको छ ।
चोरी तथा लुटपाट गरी लगेका हेटौँडा उपमहानगरपालिका वडा नं. १० स्थित बागमती प्रदेशका दुई वटा मन्त्रालयका सामानहरु नियन्त्रणमा लिएर मकवानपुर प्रहरीले बुझाएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आन्दोलनकारीले चोरी तथा लुटपाट गरेका सामानहरु मंगलबार मन्त्रालय र प्रतिष्ठानलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जेनजी आन्दोलनको क्रममा विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयहरुबाट आन्दोलनकारीहरुले चोरी तथा लुटपाट गरी लगेका सामानहरुमध्ये दुई वटा मन्त्रालय र प्रतिष्ठानका सामानहरु जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिस्ठान कार्यालय हेटौँडाको कम्प्युटर सेट चार थान, दराज र प्रिन्टर तीन–तीन थान,
फ्रिज, पंखा, हार्ड डिक्स, फोटोकपी मेसिन, ईन्भटर एक–एक थान, कुर्सी छ थान, स्पिकर सेट दुई थान, कचौरा र प्लेट सेट ३१ थान तथा ब्याट्री चार थान नियन्त्रणमा लिएर बुझाइएको जानकारी दिनुभयो । यस्तै, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको कम्प्युटर सेट तीन थान, टुल ( कुर्सी ) नौ थान तथा ल्यापटप र इन्डक्सन चुलो एक–एक थान नियन्त्रणमा लिएर बुझाएको प्रहरीको भनाई छ ।
यसैगरी बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको लुटपाट र चोरी गरिएको कम्प्युटर सेट पाँच थान, कुर्सी तीन थान तथा प्रिन्टर, ¥याक र ईलेक्ट्रिक जग एक–एक थान नियन्त्रणमा लिएर प्रहरीले बुझाएको छ ।




