खासकुरा संवाददाता
हेटौँडा, असोज २ गते । राजनीतिक दलहरुले बागमती प्रदेश सरकारलाई सुशासन र सरकारको साधारण खर्च कटौतीलाई प्राथमिकता राखेर काम गर्न सुझाएका छन् ।
बागमती प्रदेश सभा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बिहीबार हेटौँडामा बसेको सर्वदलीय बैठकमा प्रदेश सरकारलाई पारदर्शी, जवाफदेही र जनमुखी बन्दै प्रदेश सरकारले साधारण खर्च कटौती गर्न तत्काल प्रभावकारी कार्यक्रम ल्याएर अगाडि बढ्न निर्णय गरेको हो । जेनजी प्रदर्शनीका क्रममा हेटौँडास्थित प्रदेशका मन्त्रालय रहेका कार्यालयहरु आगजनी र तोडफोडबाट क्षति पुगेको नवौँ दिन मुख्यन्त्री, मन्त्रीहरु र दलका नेताहरु हेटौँडा आइपुगेका हुन् । साथै सुशासनका लागि प्रदेश सरकारले प्रभावकारी कार्यक्रम ल्याएर कार्यान्वयन गर्ने निर्णयसहित दलहरुले प्रतिबद्धता जनाएका छन् ।
मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको छ ।
साथै बैठकले लाई प्रदेशभर भव्यताका साथ मनाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी अभियान, प्रदर्शन र मागको क्रममा परी मृत्युभएका नागरिकप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै मृतकको परिवारप्रति समवेदना ब्यक्त गरेको छ । साथै सो क्रममा घाईते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना बैठकले गरेको छ ।
बैठकले जेनजी अभियान, प्रदर्शन र मागको क्रममा बागमती प्रदेशभित्रका बागमती प्रदेश सरकार अन्तर्गतका विभिन्न सरकारी संरचनाहरुमा भएको क्षति, स्थानीय तहका संरचना र विभिन्न ब्यक्ति र ब्यक्तिका ब्यँवसायिक प्रतिष्ठानमा भएको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ ।
बैठकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, माओवादी संसदीय दलका प्रमुख सचेतक रत्न ढकाल, बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलको उपस्थिति रहेको थियो ।




