खासकुरा संवाददाता
हेटौँडा, असोज ११ गते । नेपाल पत्रकार महासंघ मकवानपुरमा आबद्ध पत्रकारहरुले अब निःशुल्क उपचार सेवा पाउनेभएका छन् । पत्रकार महासंघ मकवानपुर र हेटौँडा उपमहानगरपालिका ४ स्थित सुनौलो भविष्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालबिच शनिबार निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो ।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र सहकारी अस्पतालका अध्यक्ष नरोत्तम दाहालबिच तीन वर्षका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सहकारी अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रकार महासंघ मकवानपुरका सदस्य र सदस्य बन्ने क्रममा रहेका क्रियाशील पत्रकारहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ । अस्पतालले ओपिडी सेवा, शल्यक्रिया, ल्याब, रेडियोलोजीलगायतका सेवा निःशुल्क उपलब्ध गराउने छ ।

सम्झौता अनुसार औषधीमा भने १० प्रतिशत छुटको व्यवस्ता हुने छ । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र सहकारी संस्थाका सचिब अर्जुन बिडारीले सम्झौताका बारेमा जानकारी गराउनुभएको थियो ।
