हेटौँडा, असोज १० गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीस्थित लच्कामा ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्युभएको छ । नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले सोमबार बिहान ९ः२५ बजेको समयमा मनहरी गाउँपालिका ७ स्थित लच्कामा ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइतेभएका केदारलाई हेटौँडा अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परी स्कुटरमा सवार केदारकी श्रीमति २८ वर्षीया सरस्वती श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सरस्वतीको भरतपुरस्थित एलाईभ अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटरमा सवार केदारका दुई वर्षीय छोरा प्रविन श्रेष्ठ घाइते भएको र आमासँगै अस्पतालमा रहेको प्रहरीको भनाइ छ । ग्यास बुलेट र ग्यास बुलेट चालक भारतको बिहार राज्यका ५५ वर्षीय मोहमद मतिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




