मुख्यमन्त्री बानियाँद्वारा क्षतिग्रस्त कार्यालयको निरीक्षण

लोकप्रिय

काभ्रे , कात्तिक १० गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले भदौ २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेका बनेपा नगरपालिका र इलाका प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले आन्दोलनका कारण सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले आन्दोलनका क्रममा क्षति पुगेका संरचना मर्मत तथा पुनर्निर्माणका लागि प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरी तात्कालीन राहत र पुनःस्थापनाको कार्य अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री बानियालाइ नगरपालिका कार्यालयको भवन, फर्निचर र कागजातमा भएको क्षतिको बारेमा बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्यले जानकारी गराउनु भयो ।

गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनीबाट बनेपा नगरपालिमा करिब रु १० करोड बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उक्त रकमबराबरको क्षति भएको जनाइएको हो । प्रदर्शनका क्रममा नगरको तीनतले मुख्य प्रशासनिक भवन, योजना शाखा र प्राविधिक शाखा रहेको भवन पूर्ण रूपमा क्षति भएको नगरले जनाएको छ । नगरको मूल्याङ्कनअनुसार तीनतले प्रशासनिक भवनको पहिलो तलामा रहेको सभाहल, प्रशासकीय अधिकृतको कार्यकक्ष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, प्रशासन, सहकारी तथा सामुदायिक विकास, राजस्व, जिन्सी, दर्ता चलानी शाखा, पुरुष र महिला शौचालय तथा शाखाका कार्यकक्षभित्र रहेका महत्त्वपूर्ण अभिलेख तथा दस्तावेज पूर्ण रूपमा नष्ट भएको छ । विसं २०४३ मा निर्माण भएको उक्त मुख्य भवनको ह्रासकट्टीसहितको प्राविधिक मूल्याङ्कनमा रु पाँच करोड ४२ लाख ५४ हजार ४८७ क्षति भएको जनाइएको छ ।

निरीक्षणका क्रममा मुख्यमन्त्रीसँग बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादे, बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।

ताजा समाचार

Related Articles