ऐन संशोधन गरेर जनशक्ति अभाव हुन दिँदैनौँ : मन्त्री बस्नेत

लोकप्रिय

चितवन, भदौ २६ गते ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताउनुभएको छ । 

भरतपुर अस्पतालको आज निरीक्षणपछि उहाँले ऐन संशोधन नगरी पाँच वर्षभित्रमा स्वास्थ्यका जनशक्ति अभाव हुने बताउनुभएको हो । मन्त्री बस्नेतले भन्नुभयो, “ऐन संशोधन गरेर ६ महिनाभित्रमा स्वास्थ्यका जनशक्ति उत्पादन हुने गरी काम हुन्छ ।” आफूले स्वास्थ्य जनशक्तिको समस्याका बारेमा मन्त्रिपरिषद्मा समेत कुरा उठाएको भन्दै उहाँले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस विषयमा छलफल गरेर निष्कर्ष निकाल्न निर्देशन दिनुभएको बताउनुभयो ।

यससँगै शिक्षा, स्वास्थ्य मन्त्रालय र आयोगका बीचमा छलफल गरेर आयोगलाई आवश्यक निर्देशनसमेत दिएको उहाँले बताउनुभयो । निर्देशनलाई आयोगले अवज्ञा गर्दै विज्ञप्तिसमेत निकालेको उल्लेख गर्दै उहाँले जसरी पनि दक्ष स्वास्थ्यका जनशक्ति उत्पादन गर्नेमा पछि नहट्ने बताउनुभयो ।

भरतपुर अस्पतालमा कम जनशक्तिमा काम गर्नु परेको भन्दै मन्त्री बस्नेतले देशभरि नै यो समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चार स्वास्थ्यकर्मीले गर्ने काम एक जनाले गर्न बाध्य छन्, यो समस्या समाधान हुन्छ ।” आफूले स्वास्थ्य मन्त्रालयलाई १० प्रतिशत बजेट दिनुपर्ने माग गर्दै आएको भन्दै उहाँले देशभरका अस्पतालमा देखिएका दरबन्दीका समस्या समाधान हुने बताउनुभयो ।

स्वास्थ्य बिमामा समस्या आएको भन्दै मन्त्री बस्नेतले  यसलाई समाधान गरेर जाने विषयमा छलफल भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधा सहज ढङ्गले बिरामीलाई उपलब्ध गराउन चिकित्सक कर्मचारीलाई निर्देशन दिनुभयो । कतिपय चिकित्सक कर्मचारीले निरन्तर काम गर्ने र कतिपयले कामै नगर्ने गरेको भन्दै उहाँले सबैलाई एकजुट भएर काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल र मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालमा देखिएका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । 

ताजा समाचार

Related Articles