मकवानपुर, जेठ २० गते । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरमा बसाइँ परेर जानेभन्दा आउनेको सङ्ख्या बढ्दै गएको छ । हेटौँडा उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले हेटौँडा उपमहानगरपालिकामा बसाइँ सरेर आउने क्रम बढ्दो रहेको जनाएको छ । बसाइँ सरेर उपमहानगरमा आउनेमा मूलत तराईका जिल्लाबाट रहेको शाखाको अभिलेखले देखाएको छ । तराईका बारा, पर्सा, रौंतहट, सर्लाही र महोत्तरी जिल्लाबाट हेटौँडामा स्थायी बसोवासमा लागि आउने गरेको पाइएको छ । पञ्जीकरण शाखाका अनुसार आर्थिक वर्ष २०७९/०८० मा एक हजार २४, आव २०८०/०८१ मा ९५९, आव २०८१/०८२ मा ८१९ र चालु आवको वैशाखसम्ममा ५९३ परिवार बसाइँ सरेर हेटौँडामा स्थायी बसोवासका लागि आएका छन् । आव २०७९/०८० मा ५६६, २०८०/०८१ मा ५८६, २०८१/०८२ मा ४८० र चालु आवको वैशाखसम्ममा ३५३ परिवार बसाइँ सरी अन्यत्र जिल्लामा गएको तथ्याङ्क छ । हेटौँडामा बसोवासका लागि आएकाहरूको रोजाई उपमहानगरको ४, ५, ७ र ८ बन्दै आएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक उमेश अर्यालयका अनुसार मधेश, तराईमा विगतमा भएको आन्दोलनपछि हेटौँडालाई सुरक्षित बासस्थान बनाउँदै आउनेको सङ्ख्या बढेको हो । उहाँले शिक्षा र स्वास्थ्यसँगै व्यवसाय र रोजगारीको सम्भावना देख्दै बसाइँ सरेर आउने गरेको भन्दै कतिपय हावापानी उपयुक्त भएका कारण पनि हेटौँडा बसोवासका लागि आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, पछिल्लो समय विद्यालयदेखि उच्च शिक्षाको अध्ययनको गन्तव्यसमेत हेटौँडा बन्दै जाँदा यहाँको अस्यायी र स्थायी जनधनत्व बढ्दो छ । हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडामा जनसङ्ख्याको बढ्दो चापसँगै चुनौती पनि थपिएको बताउनुभयो ।

बसाइँ सरेर आउनेलाई सेवालगायतका क्षेत्रमा व्यवस्थापन गर्न योजना बनाइएको भन्दै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रको दायरा फराकिलो बनाउनुपर्ने दायित्व आएको बताउनुभयो । विद्यालय शिक्षाका लागि विद्यार्थीको चाप बढेसँगै विद्यालय शिक्षामा लगानी बढाएका छौँ नगर प्रमुख लामाले भन्नुभयो, हरेक वडामा आधारभूत स्वास्थ्य संस्था र दुई वडामा अस्पताल सञ्चालनमा ल्याएर स्वास्थ्य सेवालाई सुदृढ बनाउने तर्फ लागेका छौं । नगर सरसफाइ र स्वस्थ्य वातावरण निर्माणमा काम भई रहेकाे नगर प्रमुख लामाको भनाइ छ ।




