हेटौँडा, जेठ २० गते । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बाल विवाह अन्त्यका लागि अभिभावक र विद्यार्थीकै सोच र विचारमा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । मंगलबार कैलाशमा बाल विवाह विरुद्ध समूदाय परिचालन कार्यक्रम अन्तरगत सरकारी, गैरसरकारी, तथा सरोकारवालाहरुको सहभागितामा भएको सचेतना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
बाल विवाह अन्त्यका लागि अभिभावकमा सचेतना ल्याउनु आवश्यक रहेको उहाँको भनाई छ ।

कैलाशमा चेपाङ र तामाङ समूदायको बसोबास रहेकाले उक्त समूदायलाई अझ बढी सचेत बनाउनु आवश्यक छ अध्यक्ष मुक्तानले भन्नुभयो, उक्त समूदायमा बढी बाल विवाहको संख्या बढी छ । बाल विवाह कानूनी अपराध हो बाल विवाह गर्नु हुन्न भन्ने चेतना वृद्धि आवश्यक छ ।
गाउँपालिकाले कक्षा १२ पास गरी २० वर्ष पुरा भई विवाह गर्नेलाई गाउँसभाको दिन नगदसहित सम्मान गर्ने गरेको अध्यक्ष मुक्तानले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोनले समूदाय स्तरमा बेथिति बढ्दो रहेकाले बाल विवाह न्यूकरणमा समस्या रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्रीले बाल विवाहले बालबालिकाको वर्तमान मात्र नभई, भविष्यलाई पनि नराम्रो असर पुग्ने बताउनुभयो ।
बाल अधिकारकर्मीहरु संगीता उप्रेती र भवानी अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिकाका सदस्य, विद्यालयका प्रधानाध्यापक, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




