हेटौँडा, जेठ २० गते । मकवानपुर जिल्लामा लागूऔषध तथा दुव्र्यसन नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलक अभियान सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनस्र्थापना केन्द्रको व्यवस्थापनमा भएको अभियान मंगलबार युवा बहस तथा सचेतना कार्यक्रमसँगै समापन गरिएको हो ।
युवामा पछिल्लो समय बढ्दो लागूऔषध प्रयोग तथा दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत जिल्लाका १० वटै स्थानीय तहमा विद्यालय तथा क्याम्पस केन्द्रित सचेतना कार्यक्रम, पालिका स्तरीय समन्वय बैठकलगायत जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।

अभियान अन्तर्गत शैक्षिक संस्थामा सञ्चालन गरिएका कार्यक्रमबाट विद्यार्थी र युवा बहस तथा सचेतना कार्यक्रमबाट युवा लाभान्वित भएका छन् ।
साथै मकवानपुरका सरकारी कार्यालय, विद्यालय तथा सार्वजनिक स्थलमा गरी १७० वटा धूम्रपान निषेध क्षेत्र बोर्ड स्थापना गरिएको छ । लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धिका लागि सबै स्थानीय तहमा सन्देशमूलक होर्डिङ बोर्डसमेत राखिएको थियो।
नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार देशभर एक लाख ३० हजार ४२४ जना लागूऔषध प्रयोगकर्ता रहेका छन् । बागमती प्रदेशमा मात्रै ४६ हजार ४८० प्रयोगकर्ता रहेकोमा तीमध्ये करिब ८० प्रतिशत १८ देखि ३५ वर्ष उमेर समूहका युवा रहेको उल्लेख गरिएको छ ।
सिआन पुनस्र्थापना केन्द्रका अध्यक्ष मन क्षेत्रीको सभाध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका निमित्त प्रमुख चन्द्रकान्त चापागाईं, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्री, मदन भण्डारी प्रतिष्ठानका उपकुलपति प्रदीप ज्ञवाली, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटालगायतको उपस्थिति थियो।




