सुनसरी, मंसिर ११ गते । जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको भवन र सवारी साधन तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई दुर्व्यवहार गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उप(महानगरपालिका–३ का २९ वर्षीय विजय लिम्वु, इटहरी–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की, इटहरी–८ का २४ वर्षीय आभाष कार्की, इटहरी–४ का २४ वर्षीय सोनम कार्की र भोजपुर याङपाङ्ग घर भई इटहरी–४ मा बस्दै आएका ४७ वर्षीय मदन खत्री रहेका छन । घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान तथा खोजतलास गर्ने क्रममा प्राप्त फोटो, भिडियो सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा फैलिएका फोटो तथा भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको अपराधिक उपद्रव गर्न नहुने कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आगजनी तोडफोड र प्रहरीको हातहतियार लुटपाटका घटनामा संलग्न व्यक्तिहरुको फोटो तथा भिडियोहरु फेला परेमा तथा प्रहरीको हातहतियार लुकाई छिपाई राखेको भन्ने बुझिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई अनुसन्धान कार्यमा सहयोग गरी दिन कोशी प्रदेश प्रहरी अनुरोध गरेको छ । साथै त्यस्ता सूचना उपलव्ध गराउनेको नाम गोप्य राखिने समेत प्रहरीको भनाई छ ।




