काठमाडौँ, मंसिर ११ गते । प्रहरीले काठमाडौँबाट झण्डै २० करोड रुपियाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
बुधबार साँझ काठमाडौँ महानगरपालिका ११ स्थित भद्रकालीमा केही मानिसले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको टोलीले बारा जिल्ला कलैया नगरपालिका २० का मोहम्मद सेफलाई नियन्त्रणमा लिएको हो । २३ वर्षीय सेफ हाल काठमाडौँ महानगरपालिका १५ स्थित डल्लुमा बस्दै आएका थिए ।

प्रहरीले क्रिप्टोकरेन्सी कारोबार गर्न प्रयोग भएको विभिन्न ब्राण्डको दुई थान मोबाइल फोन बरामद गरेको छ । प्रारम्भिक अनुसन्धान गर्दा १९ करोड ८१ लाख रुपियाँभन्दा बढी बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । सेफउपर क्रिप्टोकरेन्सी प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




