हेटौँडाका घरजग्गा धनी र व्यवसायीको मागप्रति मकवानपुरमा दल र जनप्रतिनिधिको ऐक्यवद्धता

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १५ गते । हेटौँडा बजारको राजमार्ग क्षेत्रका मागप्रति मकवानपुरका राजनीतिक दल र जनप्रतिनिधिहरुले ऐक्यवद्धता जनाएका छन् ।
सडक डिभिजन हेटौँडाले हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटेदेखि सामरी पुलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्म सडक चौडा गर्न सूचना जारी गरेसँगै आन्दोलित बनेका घरजग्गा धनी र व्यवसायीको मागप्रति राजनीतिक दल र जनप्रतिनिधिहरुले ऐक्यवद्धता जनाएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य सङ्घले सोमबार हेटौँडामा आयोजना गरेको छलफलमा राजनीति दलका प्रमुख एवम् प्रतिनिधि र जनप्रतिनिहरुले मुआब्जा र क्षतिपूर्ति नपाएका घरजग्गा धनीलाई मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । साथै प्रभावित व्यवसायीको उचित व्यवस्थापन र पर्याप्त समय दिएर मात्र सडक डिभिजनले सडक चौडाको कार्यअगाडि बढाउनुपर्नेमा दलहरु र जनप्रतिनिधिहरु एकमत भएका छन् ।
सडक डिभिजन हेटौँडाले हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटेदेखि सामरी पुलसम्म र बुद्धचोकदेखि राप्ती पुलसम्म सडकको केन्द्र भागबाट दायाँबायाँ २५/२५ गज सडक चौडा गर्ने भन्दै १५ दिने सूचना जारी गरेको छ ।
प्रभावित घरजग्गाधनीले अदालतको आदेशसमेत कार्यान्वयन नगरी सडक डिभिजन हेटौँडाले भ्रम सिर्जना गर्ने गरी सूचना जारी गरेर आतङ्कको वातावरण निर्माण गरेको आरोप लगाएका छन् ।
घरजग्गा धनीले सडक चौडा गर्नुपूर्व मुआब्जा र क्षतिपूर्तिको मागसँगै व्यवसायीको उचित व्यवस्थापन गर्न माग गर्दै आएका छन् ।
घरजग्गा धनी र व्यवसायीहरुले आफूहरु विकास विरोधी नभएको भन्दै छलफलमा विकासका नाममा सडकमा पु¥याउने र सुकुम्वासी बनाउने सरकारको कार्यप्रति आपत्ति जनाएका थिए ।

छलफलका बागमती प्रदेश सभा सदस्यहरु एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामी र लक्ष्मी श्रेष्ठले घरजग्गा धनी र व्यवसायीहरुको उचित मागको संवोधन गरेरमात्र सडक विस्तार गर्नुपर्ने भन्दै नागरिकलाई सुकुम्वासी बनाउने सरकारको कार्य स्वीकार्य नहुने बताउनुभयो ।
यस्तै नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमालेका फुर्वा दोर्जे लामा, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णु दाहाल र किशोर अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर थापालगायतले मुआब्जा र क्षतिपूर्ति दिने वा विकल्पहरुको प्रयोग गर्नुपर्ने भन्दै मुठभेडको अवस्था नबनाउन स्थानीय प्रशासनलाई आग्रह गर्नुभयो ।
सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटको अध्यक्षतामा भएको सो छलफलमा सङ्घका पूर्व अध्यक्षहरु उत्तम शर्मा ढकाल, भुवनलाल श्रेष्ठ, कृष्ण कटुवाल, घरजग्गा धनी रामहरि न्यौपानेलगायतले सडक विस्तारका नाममा आतङ्क सिर्जना गर्ने कार्य गरेको भन्दै घरजग्गाको उचित मुआब्जा र क्षतिपूर्ति पाउनुपर्ने बताउनुभयो ।

यसअघि ११ वटा दलले घरजग्गा धनीले मुआब्जा पाउनुपर्ने जनाएका थिए ।
ती दलहरुले आइतबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै सडक सिमाभित्र पर्ने घरजग्गाको वास्तविकपीडितलाई मुआब्जाको व्यवस्था गर्न भनिएको छ ।
ध्यानाकर्षण पत्र भनिएको छ, सडक क्षेत्रभित्र पर्ने घरजग्गाको अनुसन्धान गरी मुआब्जा दिन बाँकी घरानालाई मुआब्जाको पनि व्यवस्था गराउनु हुन माग गर्दछौं ।

ताजा समाचार

Related Articles