थाहा नगर बागमती प्रदेशकै पर्यटनको महत्वपूर्ण केन्द्र: मुख्यमन्त्री बानियाँ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १६ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले वडा कार्यालय जनताको घर भएको बताउनुभएको छ ।
मकवानपुरको थाहा नगरपालिका वडा नं. ७ को नवनिर्मित वडा कार्यालय भवनको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले वडा कार्यालयको आफ्नो घर बन्नु गणतन्त्रको प्रत्यक्ष उपलब्धि भएको बताउनुभएको हो ।
उहाँले वडा कार्यालयले जनताको सरकारमा पहुँच स्थापित गर्ने बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले कार्यालयको भवन जति सुन्दर र मजबुत बन्दै गएको छ, त्यसैगरी अब आम नागरिकको घर पनि राम्रो बनाउन प्रदेश सरकार र स्थानीय सरकारबीच सह–लगानी र सहकार्यका कार्यक्रम अघि बढाउन आफूहरू तयार रहेको बताउनुभयो ।
थाहा नगरपालिकाको क्षमता र सम्भावनाको चर्चा गर्दै उहाँले कृषि र पर्यटनलाई प्राथमिकता दिएर प्रदेश सरकार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“इन्द्रसरोबरको कुलेखानी क्षेत्र र थाहा नगरलाई जोडेर बागमती प्रदेशकै पर्यापर्यटनको ठूलो योजना ल्याउँदैछौँ” मुख्यमन्त्री बानियाँले भन्नुभयो थाहा नगर बागमती प्रदेशकै पर्यटनको महत्वपूर्ण केन्द्र बन्ने छ ।
गणतन्त्र र संघीयताबारे विभिन्न भ्रम फैलाइएको भन्दै उहाँले व्यवस्थामाथि भ्रामक प्रचार भइरहे पनि केही कमजोरीहरू हाम्रो पनि छन्, तर यो व्यवस्थाले राम्रो नलागे नेता नै बदल्न सकिने सर्वश्रेष्ठ अधिकार जनतामा दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, जनताको शक्ति नै गणतन्त्रको मूल सार हो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले भवनले पूर्णता पाएसँगै सेवाग्राहीले बढी सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
थाहा नगरप्रमुख विष्णु विष्टले जनप्रतिनिधिहरूको मेहनतका कारण काम समयमै सम्पन्न भएको बताउनुभयो ।
मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, वडा नं. ८ का वडाध्यक्ष हेमकुमार थिङ, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य पुरुषोत्तम ठकुरी, वाइसीएल मकवानपुरका अध्यक्ष मुक्ति लामालगायतले बोल्नुभएकको थियो ।
कार्यक्रम वडा नं. ७ का वडाध्यक्ष शिवराज थिङको सभापतित्वमा भएको कार्यक्रममा थाहा नगर उपप्रमुख भरत गोपाली, वडा नं. ६ का वडाध्यक्ष राजनभक्त श्रेष्ठ, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्यलगायतको आतिथ्यता रहेको थियो।

ताजा समाचार

Related Articles