खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १६ गते । मकवानपुरको कैलाश गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मंगलबारबाट एक कार्यक्रमका बिच सुरु भएको छ । प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने नाराका साथ कैलाश ९ मा अवस्थित कालिका माविमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पछिल्लो समय प्रविधिको दुरुपयोगले हिंसाको घटनाको संख्या बढ्दो रहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल दुरुपयोगले बालबालिका विभिन्न हिंसाको शिकार बनिरहेको अवस्थामा प्रविधिलाई सही रुपमा प्रयोग गर्न आग्रह गर्दै साइवर अपराधले धेरै बालबालिका र युवाहरु जेल जीवन बिताउन बाध्य रहेको सुनाउनुभयो ।
लागूऔषध प्रयोगकर्तामा बालबालिकाको संख्या बढिरहेको अवस्थामा बालबालिकालाई सचेत गराउनुपर्ने हामी सबैको दायित्व हो उहाँले भन्नुभयो, प्रविधिको फाइदालाई लिने हो, बेफाइदाजति त्याग्नुपर्छ ।

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष भूवन सिं घलानले प्रविधिको सही प्रयोग गर्न बालबालिकालाई आग्रह गर्दै दुरुपयोग हुँदा दण्ड सजाय समेत हुने बताउनुभयो । कार्यक्रममा कालिका माविका प्रअ रामप्रसाद कालाखेती, प्रशिक्षक आशिष दुलाललगायतको आतिथ्यता रहेको थियो ।
विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको महिला तथा बालबालिका शाखाका प्रमुख रमिला सापकोटाले बताउनुभयो । यस्तै कैलाश १० मा रहेको रत्नज्योति माविका विद्यार्थीहरुलाई पनि हिंसा र प्रविधिको प्रयोगबारे जानकारी गराइएको छ ।




