हेटौँडा, मङ्सिर २५ गते । बागमती प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य ओम बहादुर ग्लान (प्रदीप)ले पार्टी परित्याग गर्नुभएको छ ।
तत्कालीन माओवादी केन्द्रका नेता ग्लानले दलको कुनैपनि जिम्मेवारीमा नरहने गरी स्वतन्त्र रहने गरी पार्टी त्याग गरेको जनाउनुभएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका एक दर्जन पार्टी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेसँगै तत्कालीन माओवादी केन्द्रको विभिन्न जिम्मेवारीमा रहेका पार्टी नेता कार्यकर्ताले पार्टीबाट अलग हुने क्रम बढेको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका ४ का ग्लानले एक विज्ञप्ती जारी गर्दै फरक ढंगको यात्रा र सम्बन्धमा जेडिने विश्वासका साथ पार्टीलाई आफ्नो कारण असहज नहोस् भनेर नैतिकताको आधारमा कुनैपनि जिम्मेवारी नरहने बताउनुभएको छ ।
उहाँले विज्ञप्तिमार्फत विगतको योगदान र इतिहास प्रति गर्व गर्दै मूल नेतृत्व, नेता तथा कार्यकर्ता र जनतामा आभार प्रकटसमेत गर्नुभएको छ ।
यस्तै माओवादी आन्दोलन र रूपान्तरणको संघर्षमा सक्रिय रहँदै आउनुभएका तत्कालीन नेकपा माओवादी केन्द्र मनहरी गाउँ समिति अध्यक्ष आनन्द घलान (वीर बहादुर) ले पार्टी सदस्यता तथा सबै जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएको छ ।
उहाँले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले पछिल्लो समय अंगालेको नीति, दिशा र व्यवहार जनयुद्धको मूल मर्म, सहिदको बलिदान र जनआकांक्षाबाट क्रमशः अन्यत्र गएजस्तो महसुस गरेको बताउनुभएको छ ।
विचार, व्यवहार र सिद्धान्तबीच बढ्दै गएको दूरीले अब फरक बाटोबाट अघि बढ्नु नै उपयुक्त ठहर गरेको घलानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घलानले विज्ञप्तिमा २०८२ मंसिर २५ गतेदेखि तत्कालीन नेकपा माओवादी केन्द्र (नेपाली कम्युनिष्ट पार्टी) को साधारण सदस्यता तथा सबै जिम्मेवारीबाट स्वतन्त्र रहने निर्णय गरेको जनाउनुभएको छ ।




