जनताको पक्षमा काम गर्ने जिम्मेवारी पुनः एमाले र काँग्रेसमा आउने छ

लोकप्रिय

काठमाडौं, मंसिर २५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा काम गर्ने दुई ठुला पार्टी एमाले र काँग्रेस भएकाले पुनः सोही दलको काँधमा जिम्मेवारी आउने बताउनुभएको छ । सम्पादकहरुसँगको संवाद कार्यक्रममा बिहीबार बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । “काँग्रेस र एमाले यो देशको ठुला राजनीतिक शक्ति हुन्, केही दिन चलेको आँधी तुफान र ग्रहणले यी शक्ति विलय भएका होइनन्, देश बनाउने जिम्मेवारी यिनै दुई दलमा जिम्मेवारी रहेकाले फेरि जिम्मेवारी दुई दलकै काँधमा आउँछ” अध्यक्ष ओलीले भन्नुभयो ।

विना सिद्धान्त, विना नीति र विना स्पष्ट योजना दलहरु उम्रनेक्रम जारी रहेको बताउँदै उहाँले भन्नुभयो, “सम्पत्ति कमाउन, अपराधबाट बच्न र भ्रष्टाचार गर्नका लागि राजनीतिक दलमा लाग्ने होइन, राजनीतिमा लाग्ने भनेको देश बनाउनका लागि हो । देशको सकारात्मक रुपान्तरण गर्नका लागि हो । अहिले उम्रेका नयाँ दलमा त्यो कुरा देखिदैन ।”

सरकार र जेनजी अगुवाहरुबिच बुधबार भएको नयाँ सम्झौताबारे राखिएको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो, “जहाँ सम्झौता भयो, त्यहि च्यातिएको देखियो । सम्झौता नै च्यातिएपछि त्यसको के अर्थ छ र ! सम्झौताको कुनै औचित्य नभएरै च्यातिएको होला नि ।”

संसद पुनःस्थापनाबारे सम्पादकले राखेको जिज्ञासामा अध्यक्ष ओलीले संसद पुनः स्थापना हुनेमा विश्वास व्यक्त गर्नुभयो । अवैधानिक ढंगले विघटन गरिएकाले वैधानिक ढंगले पुनःस्थापना हुने उहाँले दावी गर्नुभयो । “आगजनी, लुटपाट कसैलाई स्वीकार्य हुने विषय होइन, जेनजीको आवरणमा जसले गरे पनि त्यो सह्य छैन ।”

ताजा समाचार

Related Articles