चित्लाङ भ्युटावर नगरपालिकालाई हस्तान्तरण

लोकप्रिय

हेटौँडा, मङ्सिर २८ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ९ स्थित चित्लाङमा निर्माण गरिएको भ्युटावर थाहा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको पर्यटन विकास आयोजना हेटौँडामार्फत निर्माण भएको सो भ्यु टावर नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

भ्युटावर निर्माण भएर वेवारिसे अवस्थामा रहेको उक्त संरचना दुई वर्षपछि नगरपालिकालाई सञ्चालनको जिम्मा लगाइएको छ ।
भ्युटावर वेवारिसे अवस्थामा छाडेका कारण सुन्दर भवन भएर पनि माकुराको जालो, झ्याल फुटाइएको, बत्तीहरुमा क्षति पुगेको र भ्युटावर वरपर झाँडी नै झाँडी रहेको थियो ।
पर्यटन विकास आयोजना हेटौँडाका प्रमुख रोशन श्रीवास्तवले बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा नगरपालिकाका नगरप्रमुख विष्णु विष्टलाई भ्युटावर सञ्चालन र संरक्षणको जिम्मासहित हस्तान्तरण गर्नुभयो ।
मन्त्री श्रेष्ठले नगरपालिकाले जिम्मा लिएर तत्काल सञ्चालन गर्न ठेक्का प्रक्रिया सुरु गर्न रोक्नु हुँदैन भन्दै राज्यको लगानी भएको संरचनाको संरक्षण गर्नु प्रदेश र स्थानीय सरकार दुवैको दायित्व भएको बताउनुभयो ।

नगरप्रमुख विष्टले भ्युटावर भित्र र बाहिर सरसफाईलगायतका संरक्षणको काम गरेर तत्काल सञ्चालनमा ल्याउने बताउनुभयो ।
नगरउपप्रमुख भरत गोपालीले भ्युटावरमा समस्या धेरै छैन भन्दै आवश्यक मर्मत गरी संरक्षणसँगै सञ्चालनमा ल्याइने बताउनुभयो ।
भ्युटावर केही समयपछि उद्घाटन गर्ने गरी संरचनाहरू हस्तान्तरणसँगै पर्यटन विकास आयोजना हेटौँडा र नगरपालिकाबिच सम्झौता भएको छ । सम्झौता अनुसार सो संरचना सञ्चालनबाट प्राप्त राजस्व दुवै सरकारले बाडफाँड गर्ने छन् ।
प्रदेश सरकारले चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम दुई चरणमा उक्त भ्युटावरको ठेक्का लगाएको थियो ।
आयोजनाका प्रमुख श्रीवास्तवले पहिलो चरणमा २०७७ भ्युटावर निर्माण र दोस्रो चरणमा बहुउद्देश्यीय हल, शौचालय, प्रवेशद्वारलगायतका संरचना २०८० सालमा निर्माण भएको बताउनुभयो ।
उहाँका अनुसार उक्त भ्युटावरसहितको संरचना पाँच करोड २७ लाख रुपियाँको लागतमा निर्माण गरिएको हो ।

ताजा समाचार

Related Articles