सडक डिभिजनले धराप पारेर छाडेको संरचनामा एक सातामा पाँच जना घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २८ गते । सडक डिभिजन हेटौँडाले धराप पारेर छाडेका घरमा सफाईको क्रममा सामान्य स्वास्थ्य सुरक्षालाई ख्याल नगर्दा दुर्घटना हुने क्रम रोकिएको छैन ।
सडक डिभिजन हेटौँडाले डोजर लगाएर धराप बनाएको घरमा हेटौँडा उपमहानगरपालिका १ स्थित एक घरमा सफाई गर्ने क्रममा आइतबार तीन जना निर्माण मजदुर घाइते भएका छन् ।
योसहित एक साताको अवधिमा सडक डिभिजनले सडक चौडा गर्ने क्रममा डोजरले कोपरेर छाडेका घर सफाई गर्दै गर्दा लडेर पाँच जना निर्माण मजदुर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्योग वाणिज्य संघ अगाडि हेटौँडा उपमहानगरपालिका १ स्थित एक घर भत्काउने क्रममा आइतबार दिउँसो तीन जना घाईते भएको जनाएको छ ।
घाईतेलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारको लागि अस्पताल पठाएको प्रहरीको भनाई छ ।
घाइते हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ रानीसेराका वर्ष २२ का सन्तोष भ्लोन, उदयपुर जिल्ला गाईघाट नगरपालिका ९ का वर्ष २६ का दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका १ पुरन्दाका वर्ष ३० का अरुण चौधरी रहेका छन् ।
सन्तोष र दिनेशको मकवानपुर सहकारी अस्पतालमा तथा अरुणको हेटौँडा अस्पतालमा उपचार भईरहेको छ ।
प्रहरीका अनुसार तीनै जना शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।
गत शुक्रबार पनि हेटौँडा उपमहानगरपालिका २ स्थित एक जना निर्माण श्रमिक घरबाट खसेर घाइते भएका थिए । यसअघि बुधबार पनि एक जना निर्माण श्रमिक सडक डिभिजनले धराप छाडेको घर सफाइ गर्ने क्रममा घरबाट झरेर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पनि घर सफाई गर्नेक्रममा घरबाट झरेर एक निर्माण श्रमिक घाइते भएको जनाएको छ ।
पर्सा जिल्ला कालिकामाई गाउँपालिका ९ जानकीटोलका द्वारिका यादव घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले १८ वर्षीय घाइते यादवको ढाँडको हड्डी फुस्केको जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते यादवको हेटौँडा अस्पतालमा उपचार भएको छ ।
यस्तै सडक डिभिजन हेटौँडाले धराप पारेर छाडेको घर सफाई गर्ने क्रममा ढलान तल झरेर बुधबार निर्माण श्रमिक जितेन्द्र माझी घाइते हुनुभएको थियो ।
हेटौँडा उपमहानगरपालिकाको राजमार्ग क्षेत्रमा सडक डिभिजन हेटौँडाले सडक चौडा गर्ने क्रममा डोजर चलाएर धराप बनाएका घरटहराका कारण सफाई श्रमिकदेखि पैदलयात्रुसम्मका लागि मुख्य बजार क्षेत्रमा सुरक्षा चुनौती बढेको छ ।
सडक डिभिजन, स्थानीय प्रशासन र हेटौँडा उपमहानगरपालिकाले सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दा श्रमिक घाइते हुने क्रमले निरन्तरता पाएको छ । रौतहट जिल्ला माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल हेटौँडा १० बुद्धचोकमा डेरा गरी बस्ने १९ वर्षीय घाइते माझीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
सडक चौडा गर्ने क्रममा सडक डिभिजन कार्यालयले मकवानपुर उद्योग वाणिज्य संघ अगाडि रहेको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा अधकल्चो अवस्थामा छाडेको एक घर सफा गर्दै गर्दा अचानक दुई तला माथिको ढलान तल झरेर घाइते हुनुभएका माझीको हेटौँडास्थित सञ्चो अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles