खासकुरा संवाददाता
हेटौँडा, पुस १ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ अँधेरीमा लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु र १९ जना घाइते भएका छन् ।
मङ्गलबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा बकैया गाउँपालिका–७ अँधेरी निवासी अन्दाजी वर्ष ५०/५५ का केशव माझी, अन्दाजी वर्ष ५०/५५ का युवराज माझी र अन्दाजी वर्ष ४५ का सन्तलाल माझी रहेका छन्।

टाउकोमा गम्भीर चोट लागेका केशव माझीलाई हेटौँडा अस्पतालमा भर्ना गरिएलगत्तै दिउँसो २ः३० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै, युवराज माझीलाई पनि टाउकोमा गम्भीर चोट लागेर उपचारका लागि अस्पताल ल्याइएसँगै दिउँसो २ः२६ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । ट्याक्टर दुर्घटनामा परी घाइते भएपछि सिएमसी चुरे अस्पतालमा उपचारका लागि लगिएका सन्तलाल माझीलाई समेत चिकित्सकले अस्पताल पु¥याएपछि मृत घोषणा गरेका थिए । घाइतेहरुको हेटौँडा अस्पताल र चुरेहिल अस्पतामाल उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।




