मकवानपुर, पुस १३ गते। मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ। हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको सडकमा आयोजित चार दिने खाना महोत्सवको हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले आइतबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो।

महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख लामाले खाना महोत्सवले परम्परागत खाना र संस्कृतिका संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो। मकवानपुर होटल एसोसियसनका अध्यक्ष दिलिशगोविन्द जोशीले अङ्ग्रेजी नयाँ वर्षको स्वागतसँगै “सडकमै जाउँ, सडकमै खाऊ, सडकमै रमाउँ’ भन्ने नाराका साथ खाना महोत्सवको १२ औँ संस्करण आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय दिनेश चुके, हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उज्ज्वल चौलागाईं, नेपाल पत्रकार महासंघ मकवानपुरमा अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुरगढी पर्यटन विकास समितिका अध्यक्ष केदार न्यौपानेलगायतले पर्यटन प्रवद्र्धनमा तीनै तहको सरकारको ठोस नीति आवश्यक भएको बताउनुभयो।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै खानाको पारखीलाई एकै स्थानमा विभिन्न परिकारको प्रदर्शनी र बिक्री गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। महोत्सवमा विभिन्न समुदायको परम्परागत खानासँगै रैथाने बालीका खानाका परिकारका स्टल रहेको छ। ६० वटा स्टल रहेको महोत्सवको अवधिमा स्थानीय एवम् राष्ट्रिय कलाकारको प्रस्तुतिसहित विविध मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ।




