हेटौँडा, पुस १३ गते । मकवानपुरको बागमती गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । सहिद स्मृति रंगशाला, झुरझुरेमा आइतबार सम्पन्न भएको प्रतियोगितामा सूर्य माध्यमिक विद्यालयले ११ स्वर्ण र १४ रजत गरी २५ पदकसहित प्रथम भएको छ । देवकी माध्यमिक विद्यालय, ज्यामिरेले ११ स्वर्ण र १३ रजत पदकसहित दोस्रो र ११ स्वर्ण आठ रजत पदक प्राप्त गरी जनता माध्यमिक विद्यालयले तेस्रो स्थान प्राप्त गरेको छ ।

छ स्वर्ण र दुई रजत पदकसहित बागमती मावि चौथो र तीन रजत पदक प्राप्त गरी बाघभैरबले पाँचौ भएको छ ।
बागमती गाउँपालिकाभित्र रहेका पाँच वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले फुटबल, भलिबल, कराते, तेक्वान्दो, उसु, कबड्डी, रिले दौड, सटपुट, ज्याभलिन थ्रो, हाईजम्प र लङजम्प लगायतका विभिन्न खेल विधामा सहभागिता जनाएका थिए ।
बागमती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको आयोजना र बागमती गाउँपालिका कार्यालयको प्रायोजनमा भएको हो ।
बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङको अध्यक्षता तथा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा प्रतियोगिताका विजेता तथा उपविजेता विद्यालय र विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, सामाजिक विकास संयोजक कमान सिंह पाख्रिन, मकवानपुर फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बल, भौतिक विकास संयोजक दन्तलाल माझी किरण, बागमती खेलकुद विकास समितिका उपाध्यक्ष वीरबहादुर थिङ ‘मुक्ति’ लगायतको उपस्थिति रहेको थियो ।




