विराटनगर, पुस १६ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउन सरकार अघि बढिरहेको बताउनुभएको छ । फागुन–२१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आज विराटनगरमा आयोजना गरिएको कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन सरकार दृढ भएर लागेको बताउनुभयो ।

उहाँले, वर्तमान सरकार दिन गनेर सरकारमा नबस्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराएर निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रष्ट पार्नुभयो । मन्त्री अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने पवित्र मनसायका साथ जेन जी युवाहरूको जगमा वर्तमान नागरिक सरकार निर्माण भएकाले सरकारले शान्ति सुव्यवस्था मिलाउँदै निर्वाचन तयारीका लागि तीनवटै तहका सरकारसँग समन्वय र सहकार्य गरिरहेको बताउनुभयो ।

सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन कोशी प्रदेश सरकार संघीय सरकारसँग समन्वय र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले निर्वाचनका लागि तिनै तहको सरकारबिच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो । गोष्ठीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहित कोशी प्रदेशका १४ वटै जिल्लाको प्रमुख जिल्ला अधिकारहरूको सहभागिता रहेको छ ।




