हेटौँडा, पुस १६ गते । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का लागि हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय बागमती, हेटौँडमा स्थापना गरिएको राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालयको जिल्ला न्यायाधीश एवं निर्वाचन अधिकृत गीता श्रेष्ठले बुधबार एक कार्यक्रमका बित उद्घाटन गर्नुभयो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन अन्तर्गत पुस २३ गते उम्मेदवार मनोनयन दर्ता र आगामी माघ ११ गते निर्वाचन हुने कार्यतालिका रहेको छ । बागमती प्रदेशबाट रिक्त रहेको महिला र खुला (अन्य) क्षेत्र गरी दुई जना राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालय बागमती, हेटौँडाका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्य र नगरपालिका नगरप्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहेको निर्वाचन मण्डल हुने व्यवस्था रहेको छ । बागमती प्रदेशमा प्रदेशमा ११० जना प्रदेश सभा सदस्य र ११९ वटा स्थानीय तह रहेका छन् ।

प्रदेश सभा सदस्य र नगरपालिका नगरप्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको गरी यस प्रदेशमा १० हजार ३५२ मतभार रहेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका ४ स्थित भूटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ। । उक्त मतदानस्गलमा दुईवटा मतदान केन्द्र रहने छन् ।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठलगायत सुरक्षा निकायका प्रमुखहरूले मतदान स्थलको निरीक्षणसमेत गर्नुभएको छ ।




