काठमाडौँ, पुस १८ गते। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधानअनुसार यही पुस मसान्तभित्र विशेष महाधिवेशन हुने दाबी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो। केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि विधानअनुसार पार्टी केन्द्रको आह्वानमा हुन्छ भन्ने कुरा दुई–तीन दिनभित्रै टुङ्गोमा लाग्ने उहाँको भनाइ छ।

उहाँले पुसभित्र नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउन बाध्यकारी भएकाले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा आफूले फरक मत राखेको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “अझै केही दिन प्रतिक्षा गर्छौं। पार्टी सभापति, कार्यवाहक सभापतिज्यूले पार्टी विधानको उल्लङ्घन गर्न पाइँदैन भन्ने कुरा उहाँहरुले बुझ्नुभएको छ। एकदुई दिनभित्र आएर केन्द्रीय कार्यसम्पादन समितिको बैठक राख्नुभयो र विशेष महाधिवेशन बोलाउनुभयो भने पार्टीका लागि सर्वोत्तम कुरा त्यही नै हुन्छ। हामी पनि त्यही चाहन्छौँ। हामी अनुरोध गर्छौं। यदि पार्टीको जिम्मेवार नेताले विधानको पालना गर्नुभएन भने मैले पार्टी महामन्त्री भएर यो कुरा टुलुटुलु हेरेर बस्न मिल्दैन।”

उहाँले पुस महिनाभित्र विशेष महाधिवेशन आयोजना हुने प्रष्ट पार्नुभयो। महामन्त्री थापाले भन्नुभयो, “विधानको धाराको पालना मैले गर्छु। विशेष महाधिवेशनको आयोजना गर्छौं। यो पुसभित्रमा काठमाडौँमा नेपाली कांग्रेसको विशेष महाधिवेशनको आयोजना हुन्छ। कसले गर्छ भन्ने कुरा एकदुई दिनभित्रमा प्रष्ट हुन्छ। देशभरीका महाधिवेशन प्रतिनिधि साथीहरु तपाईंहरुलाई पुस मसान्तमा काठमाडौंमा आउने कुराको लागि औपचारिक निम्तो केही दिनमा आउँछ। काठमाडौँमा भेट हुन्छ।’ उहाँले पुस मसान्तभित्र हुने विशेष महाधिवेशनले पार्टीको अगामी नेतृत्व, नीति र कार्यदिशा तय गर्ने समेत जिकिर गर्नुभयो। उहाँले यसअघि नै सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ।




