बिराटनगर, पुस १८ गते । झापाको चन्द्रगढी बिमानस्थलमा रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त भएको बुद्ध एयरको विमानमा रहेका चालक दलका चार तथा सबै ५१ जना यात्रुको उद्धार कार्य सकिएको छ । विमानमा रहेका केही यात्रुहरु घाइते भए पनि सबै ५१ जनालाई खतरामुक्त अबस्थामा विमानबाट उद्धार गरिएको छ । काठमाडौंबाट चन्द्रगढी आएको बुद्ध एयरको बिमान चन्द्रगढी बिमानस्थलमा शुक्रबार राति ९ बजेर १० मिनेटमा दुर्घटनामा परेको थियो ।

बिमानमा सवार केही यात्रुहरु घाइते भएको अबस्थामा उद्धार गरिए पनि त्यहाँ रहेका ५१ जना यात्रुको अबस्था भने खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खडकाले जानकारी दिनभयो । उहाँका अनुसार बिमान विमानस्थलमा अवतरण गर्नेक्रममा चिप्लिएर रनवेदेखि तीनसय मिटर पर खोल्सामा पुगेको थियो । घटनास्थलबाट सबै यात्रुहरुलाई प्रहरीसहितको टोलीले उद्धार गरेको छ । बिमानमा आगलागी नभए पनि विमानमा व्यापक क्षति भएको तथा विमानस्थललाई सुरक्षाकर्मीले घेरेर राखेको प्रवक्ता प्रनाउ खडकाको भनाइ छ ।

रातको समयमा दुर्घटना भएकाले तत्काल यात्रुहरुको उद्धार र आवश्यक परेकाहरुको उपचार कार्य शुरु गरिएको बताइएको छ । अहिले विमानबाट यात्रुहरुको सामानहरु निकाल्ने काम भइरहेको उहाँले बताउनुभयो । घटनाको बारेमा विस्तृत अनुसन्धान र छानविन कार्य हुने उहाँले बताउनुभयो ।




