हेटौँडा, पुस १८ गते । मदन भण्डारी फाउन्डेसन मकवानपुरद्वारा प्रकाशित ‘जबजका आयाम’ नामक पुस्तक शुक्रबार हेटौँडामा लोकार्पण गरिएको छ । नेपालका प्रख्यात कम्युनिस्ट नेता तथा जनताको बहुदलीय जनवाद (जबज) का सिद्धान्तकार जननेता मदन भण्डारीको विचार, दर्शन र बहसलाई समेटेर तयार पारिएको पुस्तक आज लोकार्पण गरिएको हो ।

फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् मदन भण्डारी हिरक जयन्ती समारोहका राष्ट्रिय संयोजक डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा फाउन्डेसनले विभिन्न समयमा सम्मान गरेका व्यक्तिहरूले पुस्तक लोकार्पण गर्नुभयो । फाउन्डेसन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापित श्रीचन्द्र शर्मा स्मृति सम्मानबाट सम्मानित व्यक्तिहरू क्रमशः बम बहादुर लामा, ईश्वरी प्रसाद न्यौपाने, सुभद्रा रेग्मी लगायतले पुस्तक लोकार्पण गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले पुस्तक वास्तवमै समय सान्दर्भिक र वैचारिक दृष्टिले महत्वपूर्ण रहेको भन्दै पुस्तक प्रकाशनमा देखाएको तदारुकता र पुस्तक प्रकाशन गर्न सफल भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

जनताको बहुदलीय जनवाद (जबज) सम्बन्धी विचार, सिद्धान्त र राजनीतिक यात्रालाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको ३१४ पृष्ठको उक्त पुस्तकमा विभिन्न व्यक्तित्वहरूको बिचार, लेख, कविताका साथै जबजको सैद्धान्तिक पृष्ठभूमि, ऐतिहासिक विकासक्रम, नेपाली राजनीतिमा यसको प्रयोग, विद्यमान चुनौती तथा भविष्यका सम्भावनाबारे गहिरो विश्लेषण समेटिएको छ ।

कार्यक्रममा बोल्नुहुँदै नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले मदन भण्डारीका बारेमा बुझ्न, खोज अध्ययन अनुसन्धान गर्न चाहने र अघिल्लो पुस्ताले गरेका कामलाई पछिल्लो पुस्तालाई बुझाउन पुस्तक उपयोगी हुने बताउनुभयो । पुस्तकको सम्पादक डा. शङ्करप्रसाद उपाध्याय, डा घनश्याम घिमिरे र बोलबहादुर कार्कीले गर्नुभएको छ । पुस्तकको खरिद मूल्य संस्थागत रु एक हजार र व्यक्तिगत रु पाँच सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।




