भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ गर्न गठित जाँचबुझ आयोगलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित बयान प्राप्त भएको छ ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले तत्कालीन प्रधानमन्त्रीको रुपमा ओलीको बयान आयोगलाई आज प्राप्त भएको जानकारी दिनुभएको हो । यसअघि आयोगले आजै ओलीलाई बयानका लागि पत्राचार गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो । आयोगले पत्राचार गरेपछि ओलीको बयान आएको र आयोगले यसलाई प्रकृयागत रुपमा अगाडि बढाउने प्रवक्ता शर्माले स्पष्ट गर्नुभयो । तत्कालीन प्रधानमन्त्री ओलीले आयोगलाई बयान नदिने बताउदै आउनु भएको थियो ।

यसैबिच एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका सिलसिलामा आयोगले ओलीसँग सोधपुछ गरेको हो।

ओलीसँग आन्दोलनका बेला भएको घटनाबारे विस्तृत सोधपुछ भएको बताइएको छ । आयोगले यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतसँग बयान लिइसकेको छ । आयोगले अन्य सरोकारवाला तथा सुरक्षा निकायका उच्च अधिकारीसँग पनि बयान लिइसकेको जनाएको छ ।




