काठमाडौँ, पुस २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पद मिलान गर्न चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाले आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक–एक पद थप गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार उज्यालो नेपाल पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग एकता पश्चात पदीय समायोजनका लागि चार जना पदाधिकारीको पद थप गरिएको हो । झाले विवेकशीलसँग पार्टी समायोजनपछि आएकामध्ये सात जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय भएको बताउनुभयो । मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहनुभएको छ ।




