हेटौँडा, पुस २२ गते । डिभिजन वन कार्यालय राप्ती, मनहरीको आयोजनामा राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत मकवानपुरको कैलाश गाउँपालिकामा सव डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी भएको छ । कैलाश गाउँपालिकाको सभाहलमा डिभिजन वन कार्यालय राप्तीका प्रमुख हेम बहादुर थापाको अध्यक्षतामा भएको गोष्ठीमा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले कैलाशको भुगोल, वातावरण र यहाँको वस्तुस्थिती हेरेर योजना निर्माण गर्नुपर्ने बताउनुभयो ।

हिजोको अवस्थाभन्दा अहिलेको अवस्था अलि फरक छ, उपभोक्ता समितिलाई परिचालन गरि वन क्षेत्रको काम गर्नुपर्छ, उहाँले भन्नुभया, पालिकाले वन ऐन निर्माण गरिसकेको छ, पालिकाले आवश्यकता अनुरुप वन क्षेत्र, कृषि, उद्यमका कार्यक्रम योजनामा समेट्दै काम गर्ने छ ।
कार्यक्रममा वन कार्यालय प्रमुख थापाले आफ्नो क्षेत्रभित्र सामूदायिक, धार्मिक, कवुलियत र निर्जीव वनहरु रहेको भन्दै वनमा चोरी शिकारी र वन्यजन्तु शिकारीहरु पनि बढ्दो अवस्था रहेको बताउँदै पालिकासँगको सहकार्यमा डिभिजन वन कार्यालय तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय कैलाशका वन अधिकृत वीरबहादुर योन्जनले योजना तर्जुमाको उद्देश्यहरु, डिभिजनबाट सञ्चालित मुख्य कार्यक्रमहरु र आगामी आव २०८३्/०८४ को लागि सम्भावित प्रस्तावित कार्यक्रमहरुबारे जानकारी गराएका थिए ।
कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर जोशी, योजना शाखा प्रमुख विक्रमबहादुर थिङलगायतको सहभागिता रहेको थियो । कैलाशमा तीन कवुलियत वनसहित २४ वटा सामूदायिक वन रहेको छ ।




