हेटौँडा, माघ २४ गते । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको आयोजनामा विज्ञान शिक्षकहरूका लागि “आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) सम्बन्धी एक दिने तालिम” शनिबार हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । तालिममा जिल्लाभरका ५८ जना विज्ञान शिक्षक तथा नौ वटा सञ्चार माध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका अध्यक्ष भरत पोखरेलको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरका प्रमुख सुदिप गिरिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भुटनदेवी एल्मुनाई एसोसिएसनका अध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे, सहप्राध्यापक बेदराज कोइरालालगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि गिरिले आर्टिफिसियल इन्टेलिजेन्स आजको शिक्षण प्रणालीको अभिन्न अङ्ग बन्दै गएको उल्लेख गर्दै शिक्षकहरूले प्रविधिसँग अद्यावधिक हुँदै विद्यार्थीलाई व्यवहारिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले यस्ता तालिमहरूले शिक्षकहरूको क्षमता अभिवृद्धि गरी गुणस्तरीय शिक्षामा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।

समाजका मकवानपुर उपाध्यक्ष सुवास खनालले स्वागत गर्नुभएको तालिमका सहभागीहरू कौशल्या दाहाल र कुलचन्द्र अधिकारीले मन्तव्य व्यक्त गर्दै प्रविधिमैत्री तालिमले शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, प्रभावकारी र प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाच गर्ने बताउनुभयो।
तालिममा प्रशिक्षक श्रवण कुमार श्रेष्ठ र आइटी रिसर्चकर्ता नवीन गन्ताङ लामाले आर्टिफिसियल इन्टेलिजेन्सको आधारभूत अवधारणा, शिक्षणमा यसको प्रयोग तथा भविष्यका सम्भावनाहरूका विषयमा प्रशिक्षण दिनुभएको थियो।




