कांग्रेस उम्मेदवार डिनाद्वारा सुशासन र समृद्धिमा जोड

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, फागुन १३ गते । मकवानपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले पूर्वाधार निर्माणसँगै शान्ति, सुशासन र समृद्धिमा जोड दिनुभएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै उहाँले सार्वजनिक गर्नुभएको नौ बुँदे संकल्पपत्रमा ‘विद्युतीय सुशासन’ मार्फत छरितो र भ्रष्टाचारमुक्त सेवा प्रवाह सुनिश्चित गर्ने बताउनुभएको छ ।
उहाँले शान्ति, सुशासन र स्थिरता कायम गर्दै ‘मेरो निर्वाचन क्षेत्र–मेरो प्रतिवद्धता’ अभियान चलाउने भन्दै रातोमाटेदेखि राप्ती पुल हुँदै चौकीटोलसम्म व्यवस्थित वैकल्पिक मार्ग सञ्चालन गर्न, त्रिभुवन राजपथ अन्तर्गत पर्ने बुद्धचोकदेखि भैंसेसम्म १६ मिटर कायम गरी पर्यटन मार्ग बनाउन, बागमती–सिन्धुली सडक र निजगढ डम्बरपुर–चुच्चेखोला सडक निर्माणमा पहल गर्ने उल्लेख गर्नुभएको छ ।

‘फास्ट ट्रयाक’ निर्माणमा समन्वय र सहजीकरण गर्ने, हेटौँडा ४ र ८ तथा हेटौँडा–११ र १२ जोड्ने गरी पक्की पुल निर्माण र सडक विस्तार प्रभावितलाई क्षतिपूर्ति र उचित व्यवस्थापनका लागि पहल गर्ने सङ्कल्पपत्रमा भनिएको छ ।
यस्तै इन्जिनियरिङ कलेज, आइटी अनुसन्धान केन्द्र, जैविक विविधता अनुसन्धान केन्द्र र चुरे ज्ञान केन्द्र स्थापना, सामुदायिक विद्यालयलाई ‘सोलार इनर्जी’ मैत्री बनाउने, आधारभूत तहमा मातृभाषा शिक्षा दिने र मावि तहमा गणित, विज्ञान र कम्प्युटर शिक्षक अनिवार्य गर्ने, हेटौँडा ६ स्थित बहुप्राविधिक महाविद्यालय सञ्चालनमा ल्याउने, तारामण्डल प्रदर्शनी गृह र कोइलीदेवी संगीत प्रष्ठिनान स्थापना गर्ने उल्लेख छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, प्रत्येक पालिकामा डायग्नोस्टिक ल्याब, चिकित्सक र नर्ससहितको अस्पताल सुनिश्चित गर्ने, ७० वर्ष माथिका जेष्ठ नागरिकको घरघरमै स्वास्थ्य परीक्षण, प्रत्येक पालिकामा निःशुल्क एम्बुलेन्स सेवा, र विपन्न वर्गलाई लक्षित गरी निःशुल्क स्वास्थ्य नीति ल्याउन पहल गर्ने, गर्भवती, सुत्केरी र नवजात शिशुका लागि विशेष पोषण तथा परामर्श सेवा सञ्चालन गर्ने, ‘हेल्थ इन अल पोलिसी’ अन्तर्गत योग, ध्यान र खुला व्यायामशालाको विकास गर्ने कांग्रेस उम्मेदवार उपाध्यायको संकल्पपत्रमा भनिएको छ ।

प्रत्येक पालिकामा सीपमूलक तालिम केन्द्र स्थापना, ‘युवा स्वरोजगार सूचना केन्द्र’ स्थापना गरी रोजगारी र उद्यमशिलताको अवसर सिर्जना गर्ने, उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई ‘पार्ट टाइम जब’ सम्बन्धी कानुनी व्यवस्था मिलाउने र औद्योगिक क्षेत्रको विस्तारलाई प्राथमिकतामा राखिएको छ ।
मकवानपुरमा वनस्पति उद्यानलाई अनुसन्धान केन्द्रमार्फत अल्लो र चिराइतो लगायतका जडिबुटीको ‘ब्राण्डिङ’ गर्ने पहल गर्ने उहाँले बताउनुभयो ।
जिल्लाका सम्पूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यको गुरुयोजना निर्माण र कार्यान्वयन, विभिन्न जातिको संग्रहालय स्थापना र गढीहरूको संरक्षण, बागमती नदी तटमा कृषि पर्यटनको विकास, रक पार्क कृत्रिम ताल निर्माण गर्ने भन्दै उहाँले दलित, आदीवासी, एकल महिला र अपांगता भएका नागरिक लक्षित विशेष रोजगार र सुरक्षा कार्यक्रम ल्याउने बताउनुभयो ।
भूमिहीन किसानलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन पहल गर्ने र आत्महत्या न्यूनीकरण परामर्श सेवालाई एकीकृत गरी ‘कल सेन्टर’मार्फत चौबिसै घण्टा सेवा प्रवाह गर्ने सङ्कल्प पत्रमा भनिएको छ ।

ताजा समाचार

Related Articles