हेटौँडा, फागुन १३ गते । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का आम जनता पार्टी (आजपा) का उम्मेदवार सूर्य राईले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै कांग्रेस उम्मेदवार बुद्ध लामालाई समर्थन गरेको घोषणा गर्नुभएको हो ।
मनहरी गाउँपालिका–६ मा आयोजित चुनावी सभामा राईलाई कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममार्फत राईसहित विभिन्न दल परित्याग गरी ८६ जना नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाले जानकारी दिनुभयो ।

कांग्रेस प्रवेशपछि राईले देशमा विकास र स्थिरताका लागि कांग्रेसको विकल्प नभएको बताउनुभयो । “कांग्रेसले पछिल्लो समय लिएको नीति र मार्गदर्शनले मात्रै देशलाई सही दिशामा लैजान सक्छ,” उहाँले भन्नुभयो, “त्यसैले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर बुद्ध लामालाई समर्थन गरेको हुँ ।”
कार्यक्रममा कांग्रेस सभापति बानियाँले नयाँ भनिएका दलहरूमा गम्भीर विचलन देखिएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू सहकारी ठगी, दोहोरो राहदानी र नागरिकता विवादमा मुछिएको बताउनुभयो ।
“गरिबको पैसा मासिएकै कारण आज ठूला कुरा गर्नेहरू धरौटीमा निस्कनुपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो । रास्वपाले क्युआर कोडमार्फत रकम संकलन गरी बाहिरबाट मान्छे ओसारेर कृत्रिम भीड देखाएको उहाँको आरोप छ ।

कांग्रेस मकवानपुर सभापति तथा उम्मेदवार बुद्ध लामाले निःशुल्क तथा सुलभ स्वास्थ्य सेवा, महिला, किसान र युवा लक्षित कार्यक्रम, वैदेशिक रोजगारी व्यवस्थापन, स्वदेशमै सीपमूलक तालिम र लघुवित्त समस्याको समाधानलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउनुभयो ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, पालिका सभापति प्रकाश बर्तौलालगायत नेताहरूको उपस्थिति थियो।




