मकवानपुर, फागुन १३ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ स्थित बस्तीपुर सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालकसहित दुई जनाको मृत्युभएको छ ।
हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नं.को मोटरसाइकललाई नेवारपानीबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ट्रकले बुधबार ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक र पछाडि बसेर सवार व्यक्तिको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने वर्ष २२ को सन्जित स्याङतान र सोही मोटरसाइकल. पछाडि सवार सोही स्थानमा वर्ष १८ को अमोश थिङको मृत्युभएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबार ५ः०५ बजेको समयमा ट्रकको ठक्करबाट दुर्घटना भई गम्भीर घाईते भएका दुवै जनालाई उपचारको लागि चुरेहिल अस्पताल हेटौँडा पठाइकोमा उपचारको क्रममा ५ः५२ बजे दुवै जनाको डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रहरीले मोटरसाइकललाई ठक्कर दिने ग २ ख ८९८ नं.को ट्रकलाई अनुसन्धानको क्रंममा वीरगञ्ज महानगरपालिका १३ पर्तिमाचोकस्थित ग्यारेजबाट नियन्त्रणमा लिएको छ । साथै ट्रक चालक जितपुरसिमरा उपमहानगरपालिका ३ बस्ने वर्ष ३६ का अनिल साहको खोजतलास भईरहेको प्रहरीको भनाई छ ।




