रास्वपामा बोल्नै नपाउने भएकोले छाडेः नेता पराजुली

लोकप्रिय

हेटौँडा, फागुन १३ गते । नेपाली कांग्रेसका नेता भरत पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बोल्दैसमेत नपाइने भएको उक्त पार्टी परित्याग गरेको बताउनुभएको छ ।
उहाँले रास्वपाभित्र विचारमाथि छलफल नै नहुने र नेतृत्वको तानाशाहीपनका कारण उक्त पार्टी छाडेर कांग्रेसमा फर्केको भन्दै रास्वपामा सैद्धान्तिक विचलन आएको बताउनुभयो ।
रास्वपा मकवानपुरको संस्थापक सभापति रहनुभएका पराजुली उक्त पार्टी परित्याग गरी नेपाली कांग्रेसमा फर्कनुभएपछि कांग्रेस मकवानपुरको बिपी भवन परिसरमा बुधबार आयोजित स्वागत कार्यक्रममा उहाँले रास्वपा सिद्धान्त र दृष्टिकोणविहीन बन्दै गएको बताउनुभयो ।

पुराना दललाई ठोक्ने र भ्रष्टाचारमुक्त बनाउँछु भन्ने भाषणमा मात्र रास्वपा सीमित भएको छ नेता पराजुलीले भन्नुभयो, सामाजिक सञ्जाल र भाषणमा रास्वपा जति लोकतान्त्रिक देखिन्छ, व्यवहारमा त्यस्तो नदेखिदैन ।
उहाँले भन्नुभयो, रास्वपामा आन्तरिक लोकतन्त्रको अभाव छ, बोल्नै नपाइने अवस्था छ, केन्द्रीय नेतृत्वले जे भने पनि र गरे पनि स्वीकानैपर्ने बाध्यता छ ।
तल्लो तहका नेता–कार्यकर्ताले केन्द्रीय नेतृत्वलाई आफ्ना धारणा राख्नसमेत समस्या छ भन्दै उहाँले क्रान्तिकारी कम्युनिष्ट पार्टी भन्दा पनि रास्वपा बढी निरङ्कुश रहेको बताउनुभयो ।
वर्तमान कांग्रेस नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सभापति गगन थापाको नेतृत्वमा युवाहरूको क्षमतावान् टिम तयार भएको र पार्टी सुधारको दिशामा अघि बढिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, सुध्रेको कांग्रेसले देशको अभिभावकत्व निर्वाह गर्ने र देशलाई सही दिशा दिन सक्छ भन्ने पूर्ण विश्वाससहित कांग्रेसमा फर्केको बताउनुभयो ।

कांग्रेसकी निवर्तमान सहमहामन्त्री एवम् मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले पार्टीभित्र अब आफू न्याय स्थापित गर्न लाग्ने बताउनुभयो । क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामाले कांग्रेसको नीति र विचारका कारण नागरिकको विश्वास जितेको बताउनुभयो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल माइकलले पराजुलीलाई स्वागत गर्नुभएको थियो ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजुली मकवानपुर–२ मा रास्वपाबाट उम्मेदवार बन्नु भएको थियो । प्रत्यक्ष तर्फ पराजुलीले १२ हजार ५९ मत प्राप्त गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles