प्रत्यक्षतर्फ १४ जना महिला निर्वाचित

लोकप्रिय

काठमाडौँ, फागुन २४ गते । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सय ६५ क्षेत्रमध्ये १४ क्षेत्रमा नारी विजयी भएका छन्।  निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १३ र नेपाली कांग्रेसका एक गरी जम्मा १४ महिला विजयी हुनुभएको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल उम्मेदवार सङ्ख्या तीन हजार ४०६ रहेको थियो । जसमध्ये महिला उम्मेदवार ३८८ जना र पुरुष उम्मेदवारको सङ्ख्या तीन हजार १७ रहेको थियो ।  राजनीतिक दलबाट दुई हजार २६३ र स्वतन्त्र उम्मेदवारको सङ्ख्या एक हजार १४३ रहेको थियो ।

कोशी प्रदेश अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार जना महिला विजयी हुनुभएको छ । झापा–१ बाट निशा डाँगी (२९ वर्ष), झापा–२ बाट इन्दिरा राना मगर (५५ वर्ष), मोरङ–५ बाट आशा झा (४२ वर्ष), मोरङ–६ बाट रुबिना आचार्य (३१ वर्ष) हुनुभएको छ । मधेस प्रदेश अन्तर्गत रास्वपाका उम्मेदवार सप्तरी–१ बाट पुष्पाकुमारी चौधरी (३६ वर्ष), महोत्तरी–४ बाट गौरी कुमारी (५४ वर्ष), सर्लाही–१ बाट नितिमा भण्डारी कार्की (४३ वर्ष) हुनुहुन्छ । बागमती प्रदेशबाट रास्वपाका उम्मेदवार धादिङ–१ बाट आसिका तामाङ (३७ वर्ष), काठमाडौँ–१ बाट रन्जु न्यौपाने दर्शना (३० वर्ष), ललितपुर–३ बाट तोसिमा कार्की (३६ वर्ष), चितवन–३ बाट सोविता गौतम (३० वर्ष) हुनुहुन्छ ।

गण्डकी प्रदेश अन्तर्गत कास्की–३ बाट रास्वपाका बिना गुरुङ (५३ वर्ष) विजयी हुनुभएको छ । गुरुङ ३७ हजार ७५० मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा नेकपा (एमाले) का दामोदर पौडेल वैरागीले सात हजार ९०६ र नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले एक हजार ४५६ मत प्राप्त गर्नुभयो । कर्णाली प्रदेश अन्तर्गत दैलेख–१ बाट नेपाली कांग्रेसकी बासना थापा (४५ वर्ष) विजयी हुनुभएको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली–१ बाट रास्वपाका कोमल ज्ञवाली (४७ वर्ष) विजयी हुनुभएको छ । ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी हुनुभएको हो ।

ताजा समाचार

Related Articles