जनताको मत स्वीकार्यः एमाले अध्यक्ष ओली

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, फागुन २८ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताउनुभएको छ ।
उहाँले अपेक्षा गरे अनुसार परिणाम ल्याउन नसकेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन,’ उहाँले भन्नुभएको छ ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।’

साथै उहाँले अहिलेको कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर एमालेको पक्षमा उभिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो एमाले अध्यक्ष ओलीको भनाई छ ।
‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।’ ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
ओली झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित हुनुभएको थियो ।

 

ताजा समाचार

Related Articles