मकवानपुरमा प्रहरीले फाईरिङ गर्दा युवक घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, फागुन २८ गते । मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर १ स्थित मकरीमा प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि हवाइफायर गर्दा एक युवक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले हेटौँडा उपमहानगरपालिका १२ हात्तीगौडाका सनिस तितुङले गएराति गस्तीमा गएको प्रहरीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि फाईरिङ गर्दा तितुङ घाइतेभएको बताउनुभयो ।

मकरीमा लागूऔषध सेवन तथा झैझगडा भइरहेको खबरपछि प्रहरी चौकी पदमपोखरी मकवानपुरबाट गएको प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा गएको प्रहरी टोलीले घटनाको बारेमा सोधपुछ गर्ने क्रममा तामाङलाई बियरको बोतल, खुकुरी र बन्चरोले प्रहार गर्दा दुवै हातमा चोट लागेर घाईते हुनुभएको प्रहरीको भनाई छ ।
प्रहरी नायव उपरीक्षक बोगटीका अनुसार तामाङमाथि आक्रमण भएपछि आत्मरक्षाको लागी तामाङले साथमा भएको पेस्तोलबाट एक राउण्ड फाईरिङ गर्दा १९ वर्षीय तितुङ घाइतेभएको बताउनुभयो ।

तितुङको पेटको दाहिने भागमा गोली लागेको छ । घाइते दुवै जनाको सिएमसी चुरेहिल अस्पताल मकवानपुरमा उपचार भईरहेको छ ।
घटनास्थलबाट प्रहरीले घटनामा संलग्न हेटौँडा १२ रमनटारका वर्ष २४ का सन्जय जिम्बा र वर्ष ३५ का अजय थिङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । मकवानपुर प्रहरीका अनुसार पक्राउ परेका दुवै जना र गोली लागि घाइते व्यक्ति भएका तितुङ विगतमा लागूऔषध, ज्यान मार्ने उद्योग र चोरीलगायतका विभिन्न अपराधमा संलग्न देखिएको छ ।

ताजा समाचार

Related Articles