हेटौँडा, चैत ९ गते । मकवानपुरको थाहा नगरपालिका–६, बज्रबाराहीमा बिजुलीको तार सर्ट हुँदा कपडा सिलाउने पसलमा आगलागी भएको छ।

आइतबार साँझ भएको आगलागीबाट बज्रबाराही लिलाखेलका सूर्यबहादुर बलामीको कपडा सिलाउने पसल (टेलर)मा आगलागी भई करिब पाँच लाख रुपियाँ बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।आगलागीबाट पसलभित्र रहेका कपडा र सिलाउने मेसिन जलेर नष्ट भएको छ ।

पसलमा भएको आगलागी स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागीमा मानवीय तथा चौपाया कुनै क्षति नभएको प्रहरीले जनाएको छ।




