हेटौँडा, चैत ११ गते । मकवानपुरको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एकको मृत्यु र तीन जना घाइतेभएका छन् ।
कान्ति लोकपथ अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाखास्थित सडकखण्डमा ना ८ ख ८७६० नं. को आइचर ट्रक दुर्घटना हुँदा वीरगञ्ज महानगपालिका ३२ का २० वर्षीय सन्तोष यादबको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले बुधबार बिहान २ः५० बजेको समयमा ट्रक दुर्घटनामा घाइतेभएका यादवलाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याई इसिजी गर्दा डाक्टरले मृत्य घोषणा गरेको बताउनुभयो । यादवको शव सोही अस्पतालमा रहेको छ ।

दुर्घटनामा परी घाइते हुनुभएका ट्रक चालक वीरगञ्ज महानगपालिका ३२ घर भएका ३३ वर्षीय कृष्ण यादबलाई हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारको लागी भरतपुर पठाएको छ । उक्त ट्रक वीरगञ्जबाट काठमाडौँका लागि एरियल कम्पनीको सरफ लोड लिएर जाँदै गरेको अवस्थामा दुर्घटना भएको थियो ।
दुर्घटना भएको खबर पाएपछि अस्थायी प्रहरी पोष्ट जितपुरभन्ज्याङ मकवानपुरबाट घटनास्थलमा प्रहरी टोली पुग्दा ट्रक अनियन्त्रित भई सडक नजिक रहेको घरमा ठक्कर खाई सडकबाट खोल्सामा खसेर दुर्घटनाग्रस्त भएको पाइएको प्रहरी नायव उपरीक्षक बोगटीले बताउनुभयो ।
नेपाली सेनाको लेनडाडाँडा सुरक्षा वेशबाट गएको १० जनाको टोलीले घाइतेहरुको उद्धार गरेको थियो ।
ट्रक दुर्घटना हुँदा स्थानीय ओमान सिंह तितुङको घरमा समेत क्षति पुगेको छ ।

यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका ८ स्थित भिआइपी सडक खण्डमा गएराति मोटरसाइकलकको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार सिमपानीबाट मनहरी बजारतर्फ आउँदै गरेको ना ४६ प ३१२० नम्बरको मोटरसाइकलकको ठक्करबाट घाइते भएका पहिचान नखुलेको वर्ष ३४÷३५ का पुरुष व्यक्तिको मनहरी अस्पताल मकवानपुर सामान्य उपचारपछि थप उपचारको लागी गएराति नै नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ ।
मोटरसाइकल घटनास्थलमा छाडी फरार भएका चालकको खोजतलासको क्रममा मनहरी गाउँपालिका ७ मनहरी बजारका २४ वर्षीय विकेस कटुवाललाई घरमा भेटिएको थियो । कटुवाललाई घाईते अवस्थामा नियन्त्रणमा लिई मनहरी अस्पतालमा उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको प्रहरीको भनाई छ ।




