हेटौँडा, चैत ११ गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज रामेश्वर रानाले पार्टीका सबै पक्षले पंक्ति एकताबद्व भएर वर्तमान चुनौतिको सामना गर्नुपर्ने बताउनु भएको छ । एमाले बागमती गाउँपालिका कमिटीको समीक्षा बैठकलाई मङ्गलबार सम्बोधन गर्दै एमालेलाई जनताबाट अलग्याउन र पार्टीको विपक्षमा भ्रम सृजना गर्न अन्तरराष्ट्रिय शक्ति नै लागेको र राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र विकास समृद्विको पक्षमा दृढतापूर्वक उभिएको एमालेलाई कमजोर बनाउन लागेको बताउनु भयो । उहाँले निर्वाचन परिणाम अनुकूल हुन नसके पनि पार्टीको पक्षमा उत्साहपूर्क परिचालित सबै नेता कार्यकर्तालाई धन्यवादज्ञापन गर्दै देश, जनता र पार्टीको पक्षमा भन्दै अविचलित रूपमा लाग्न आग्रह गर्नुभयो ।

बैठकमा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले ईतिहासमा नै नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलन संकटमा परेको भन्दै परिवर्तनकारी आन्दोलनको पक्षमा निरन्तर भूमिका खेलेको एमाले र नेतृत्वमाथि प्रहार भएको बताउनुभयो । हामी राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको सृदृढीकरण र विकास समृद्विको पक्षममा उभिएका छौँ, अझ दृढ भएर उभिनु आवश्यक छ भन्दै उहाँले जनताको बीचमा हामीप्रति फैलाइएको भ्रमहरूलाई चिर्न पर्ने बताउनु भयो । बैठकमा प्रदेश कमिटीका सदस्य छिरिङ्गदोर्जे पाख्रिन, जिल्ला सचिव सीता विष्टलगायतले निर्वाचनको समिक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

पालिका कमिटी अध्यक्ष नरबहादुर घलानको अध्यक्षतामा भएको बैठकमा जिल्ला कमिटी उपसचिव आरती पाठक, जिल्ला सचिवालय सदस्य जयबहादुर वाईवालगायतको उपस्थिति रहेको थियो । बैठकमा पालिकाका ९ वटा वडाका प्रतिनिधिहरूले निर्वाचनको समिक्षात्मक प्रतिवेदन पेश गर्नुभएको थियो ।




